काठमाडौं – नागरिकको निक्षेपमा मोजमस्ती गर्दै आएका बैंक तथा वित्तीय संस्था एकपछि अर्को गर्दै समस्यमा फस्दै आएका छन् ।
ठूला बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिको अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिृकतहरु नै एक अर्कालाई नटर्ने अवस्थामा पुगेका कारण वित्तीय क्षेत्रमा समस्या बढेको हो । नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत वित्तीय अराजकता रोक्न कुनै पनि पहल नगरेको भन्दै सर्वत्र चिन्ता व्यक्त गरिएको छ । सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयलाई लिएर चर्केको विवादले सञ्चालक समिति नै भंग हुन सक्ने अवस्थामा पुगेको छ । यो वित्तीय क्षेत्रमा नकारात्मक उदाहरणको रुपमा प्रस्तुत भएको छ । नागरिकले खाइ नखाई जम्मा पारेको निक्षेपमा को कसले बढी हिस्सा लिने र कसरी नाफा मात्र कमाउने भन्ने ध्याउन्नमा लागेका कारण समस्या बढ्दै गएको हो ।
निरज श्रेष्ठले बैंक सञ्चालन गर्न नसक्ने भन्दै सञ्चालक समितिका सदस्यहरु नै विभाजित देखिएका छन् । सनराइज बैंकको सञ्चालक समितिको बैठकले निरज श्रेष्ठलाई असार २ देखि लागू हुने गरेर चारवर्षे कार्यकालको लागि सिइओ पदमा नियुक्त गरेको थियो । तर सञ्चालकहरु नै एक आपसमा विवादमा उत्रेपछि निरजको नियुक्तिले वैधानिकता पाउने वा नपाउने भन्नेमा आशंका पैदा भएको छ ।
सञ्चालकको विरोध र सिइओ नियुक्ती प्रक्रिया संचालक समितिका अध्यक्ष मोतिलाल दुगडले एकल निर्णयबाट भएको भन्दै संचालक शैलेन्द्र गुरागाईँले सार्वजनिक रुपमा नै असन्तुष्टि जनाएका छन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष समेत हुन् । जनता बैंकमा पनि लफडा गरेको भन्दै छाडेका गुरागाईँले सनराइजमा पनि चलखेल गरेको भन्दै केहीले आपत्ति जनाएका छन् । तर गुरागाईँले भने जनताको निक्षेपसँग जोडिएको विषयमा आफूले तथ्य जे हो त्यही सार्वजनिक गरेको बताएका छन् ।
असार २ गतेदेखि सिइओको कार्यभार समाल्नुपर्ने श्रेष्ठले संचालक समितिमा देखिएको विवादको कारण सिइओ नहुने मनस्थिति बनाएका छन् । बैंकले नेप्सेलाई पत्र पठाएर तत्कालको लागि कामूको जिम्मेवारी आशा राणा अधिकारीलाई निरन्तरता दिने जनाएको छ । राष्ट्र बैंकले सनराइज बैंकमा भएको विवादलाई नजिकबाट हेरेको भन्दै विवाद साम्य नभएमा संचालक समितिनै भंग गर्न सक्ने सम्मको चेतावनी दिएको छ । तर राष्ट्र बैंकले भने सो विषयमा केही नगरिकन चुपचाप बस्ने रणनीति अख्तियार गरेको छ ।
नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले सनराइजको संचालक समितिमा वरिष्ठ व्यक्तिहरु रहेको र आफ्नो प्रतिष्ठालाई ख्याल गरेर अगाडि बढ्नेमा आफूहरु विस्वस्त रहेको भन्दै समस्यामा हात नहाली चुवचाव बस्ने नीति अख्तियारी गरेको बताए । राष्ट्र बैंकको यो नीतिका कारण वित्तीय क्षेत्रमा अराजकता मौलाउने देखिएको छ । ‘वरिष्ठ व्यक्तिहरुको विवाद अब बढ्दैन भन्ने हाम्रो अनुमान छ, उहाँले पाको निर्णय लिनुहुन्छ,सानो कुराको विवाद हल गर्नुहुन्छ भन्ने हामी अनुमान गर्छौ,’ नाम उल्लेख गर्न राष्ट्र बैंकका एक अधिकारीले बताए ।
राष्ट्र बैंकले संचालक समितिका सदस्यलाई विवाद नमिलेमा संचालक समितिमा भंग गर्न सक्ने अनौपचारिक रुपमा चेतावनी दिएको छ । राष्ट्र बैंकले संचालक समिति भंग गर्नुपर्ने अवस्था आउन नदिनको लागि संचालकलाई सचेत गराएको छ । तर सो बारेमा केन्द्रीय बैंकका अधिकारी स्पष्ट रुपमा खुला भएर बोल्न भने तयार छैनन् ।
राष्ट्र बैंकलाई यसरी बैंक तथा वित्तीय संस्थामा विवाद बढ्दा बैंकको संचालक समिति भंग गर्ने अधिकार छ । यसरी राष्ट्र बैंकले व्यवस्थापन टोली नै खटाएर बैंकलाई अल्पकालिन रुपमा समाल्न सक्छ । विगतमा पनि विभिन्न बैंकमा राष्ट्र बैंकले संचालक समितिलाई भंग गरेर बोर्डमा नियन्त्रण लिएको थियो । सनराइज बैंकको संचालक समितिमा मोतिलाल दुगड अध्यक्ष छन् । यस्तै सदस्यमा गुरागाईँ बाहेक, बच्चराज तातेड,मालचन्द्र दुगड, शारदा शर्मा, दीपक नेपाल र ओमकृष्ण जोशी रहेका छन् । मारवाडीको बैंकको रुपमा रहेको सो बैंक विभिन्न आर्थिक अनियमिततामा फसेको भन्दै यसअघि पनि राष्ट्र बैंकले निगरानी गरेको भएपनि कुनै कारवाही नगरी छाडेको थियो ।
सनराइज बैंकमा चारवर्षे कार्यकाल पूरा गरेर रत्नराज बर्जाचार्य बाहिरिएपछि सिइओ पद खाली थियो । त्यसो त काहीँ पनि टिकेर काम नगर्ने, आफ्नो मात्रै निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने स्वभावका निरजलाई माछापुच्छ्रे बैंकले समेत कार्याअवधि हुँदै हटाएको थियो । चार वर्षका लागि नियुक्त भएका श्रेष्ठ १५ महिनामा नै बैंक छाडेर हिडेका थिए । स्थिर भएर नबस्ने व्यक्तिलाई बैंकमा ल्याएर दादागिरी गरिएको भन्दै मोतीलाल दुगडमाथि अन्य सञ्चालकले समेत आपत्ति जनाएका छन् । उता एनआईसी एशियाको विषयमा राष्ट्र बैंकले अनुसन्धान गरेपनि चुपचाप भित्रभित्रै मिलाउने खेल भएको छ ।
ठूलो रकम हिनामिना भएको भएपनि राष्ट्र बैंकका अधिकारीलाई प्रभावमा पारिएको जानकारहरुको भनाइ छ । जसका कारण ठूलो रकम समस्यामा पर्ने देखिएको छ । ह्याकरहरुले ह्याक गरेको रकम समेत फिर्ता ल्याउन नसकेको एनआईसी एशियाले कर्मचारीलाई समेत शोषण गरेको भन्दै उजुरी परेको छ । श्रम कार्यालयमा परेको उजुरीमाथि पनि कुनै सुनुवाई भएको छैन ।
एनआईसी एशियाका केही व्यक्ति श्रम कार्यालय गएर आर्थिक प्रलोभन देखाइए कर्मचारीको उजुरीलाई कुनै पनि कारवाही नहुने अवस्थामा पु¥याएको जानकारहरुको भनाइ छ । श्रम कार्यालयलाई समेत प्रभावमा पारेका कारण एनआईसी एशियाको ज्यादती अझै बढेर जाने जानकाहरुको दावी छ । यस विषयमा प्रतिक्रिया लिन बैंकका सीईओ रोशन न्यौपानेलाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।
प्रतिक्रिया