सम्पन्न भएका आयोजनाको यथाशीघ्र भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

६ बर्ष अगाडि

काठमाडौँ – अर्थमन्त्री डा युवराज खतिवडाले  चालु आर्थिक वर्षमा सम्पन्न भएका कामको भुक्तानी यथाशीघ्र गर्न निर्दैशन दिनुभएको छ ।

सम्पन्न भएका आयोजनाको भुक्तानी नदिदा त्यसले समग्र पूँजीगत खर्चमा समेत प्रभाव पर्ने भएकाले त्यस्ता आयोजनाको भुक्तानी दिन निर्देशन दिनुभएको हो ।

अर्थ मन्त्रालयमा चालु आर्थिक बर्षमा  वैदेशिक सहायतामा सञ्चालित आयोजनाको कार्यान्वयन सम्वन्धमा आयोजित समीक्षा बैठकमा अर्थमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।

उहाँले  प्रदेश र स्थानीय तहबाट बजेट र खर्चको प्रतिवेदन हुने व्यवस्था गरिएकाले आउँदा दिनमा ती निकायबाट  हुने खर्चको प्रगति समेत समय मै उपलब्ध भई खर्चको यथार्थ प्रतिवेदन हुने जानकारी दिनुभएको थियो ।

यसैगरी उहाँले खर्चको वास्तविक प्रतिवेदनका लागि सबै मन्त्रालयले सोझै भुक्तानीको प्रतिवेदन समयमा नै गर्न समेत निर्देशन दिनुभयो । वैदेशिक सहायता तर्फ चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उत्साहजनक रुपमा रु ६३ अर्बसोधभर्ना प्राप्त भएता पनि अझै रु ४३ अर्व सोधभर्ना हुन बाँकी रहेको बताउनुभयो । शोध भर्ना हुन बाँकी रहेकाले सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप परेको हुँदा मन्त्रालय तथा सम्वन्धित निकायहरुले यथाशीघ्र सोधभर्ना प्राप्ति तर्फ पहल गर्न पनि उहाँले आग्रह गर्नुभयो।

सो  अवसरमा बैदेशिक सहायतामा सञ्चालित आयोजनासँग सम्वन्धित मन्त्रालय र निकायका सचिव, सहसचिव तथा आयोजना प्रमुखको उपस्थिति रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

बैठकमा  विभिन्न मन्त्रालय र निकायका सचिव र प्रतिनिधिले वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयनमा क्रममा भोगेका समस्या र सोध भर्नाको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

सो  अवसरमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले चालु आर्थिक वर्षको हालसम्मको समग्र र स्रोतगत  खर्चको अवस्था एवं अपेक्षित प्रगति हुन नसकेका वैदेशिक सहायतामा सञ्चालित आयोजनाको बारेमा प्रस्तुतीकरण गर्नु भएको अर्थमन्त्रालयले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया