सुन प्रकरणमा प्रकाश अर्याल पनि तानिने !

८ बर्ष अगाडि

काठमाडौँ । सुन प्रकरणमा नेपाल प्रहरीका तत्कालीन महानिरक्षिक प्रकाश अर्याल पनि तानिने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रयाइएको सुन पक्राउ नगर्न उनै अर्यालले आदेश दिएको अनुसन्धानबाट पत्ता लागेको छ । 
तत्कालीन आईजीपी प्रकाश अर्यालको नेतृत्व भ्रष्ट हुँदा नेपाल प्रहरी बदनाम मात्रै भएको छैन । थप केही अरु अधिकारी समेत पक्राउ पर्ने सम्भावना बढेर गएको छ । अर्याल मात्रै नभई नेकपा(एमाले)का सांसद समेत रहेका नवराज सिल्वाल समेत सो प्रकरणमा तानिन सक्ने अवस्था आएको अनुसन्धान समितिले जनाएको छ । 
विमानस्थलबाट हात्ती समेत छिराइदिन सक्छु भन्ने कुख्यात अपराधी चाल्र्स शोभराजले भने जस्तै सुन प्रकरणका प्रहरीका उच्च अधिकारी नै संलग्न रहेको पाइएपछि प्रहरी भित्र हल्लीखल्ली भएको छ । सुन प्रकरणमा विमानस्थलका कर्मचारीको संलग्नता छ नै त्यो भन्दा बढी प्रहरी अधिकारीको संलग्नता पाइएको छ । प्रहरीले धममाधम आफ्नै हाकिम समात्दै थुन्दै गर्न थालेको छ । 
दरबारमार्गको सामूहिक बलात्कार काण्डदेखि सुनसरीको बलात्कारमा मिलापत्र हुँदै अहिले सुन तस्करी प्रकरणसम्म प्रहरी अधिकारीहरु मुछिएका छन् । जसले गर्दा प्रहरीभित्रै धेरै अपराधकर्ममा संलग्न व्यक्तिहरुको ठूलो गिरोह रहेको सहजै अनुमान गर्न सकिन्छ । त्यो गिरोहको चंगुलमा प्रहरी संयन्त्र पूर्ण रुपममा परिचालित भएको देखिन्छ । प्रहरीलाई नै गिरोहले परिचालन गरेपछि यस्तो परिणती भएको सहजै अनुमान गर्न सकिन्छ, अनुसन्धानमा संलग्न एक अधिकृतले भने । 
विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानको पहिलो चरण प्रहरीले सकाएको छ । तर, दोस्रो चरणको अनुसन्धानमा प्रकाश अर्याल लगायतका प्रहरी अधिकारीहरुसमेत पर्ने देखिएको छ । 
प्रहरीले शाक्य हत्यामा संलग्न भएका प्रहरीहरुलाई मात्र पक्राउ गरेको हो । विमानस्थलबाट ६ वर्षदेखि भइरहेको सुन तस्करी प्रकरणमा संलग्न थप प्रहरी तथा एयरलाइन्सका कर्मचारीहरुमाथि अनुसन्धान जारी रहेको छ । 
 छानबिन समितिका अधिकारीकाअनुसार राजनीतिक नेतृत्वको आडमा प्रहरी प्रशासनले सुन तस्करी गरेको भएपनि प्रहरी मात्रै अपराधी भएको जसरी प्रचार गरिएको भन्दै पक्राउ परेका प्रहरीले नै गुनासो गरेका छन् । 
पक्राउ परेका प्रहरीले राजनीतिक नेतृत्वको निर्देशनमा हामीले काम गरेको भएपनि अन्त्यमा आफू मात्रै परेको बयान दिउका छन् । 
अनुसन्धानमा संलग्न अधिकारीकाअनुसार  धेरै प्रहरी अधिकृत मात्र होइन, तिनलाई राजनीतिक संरक्षण दिने नेता, कार्यकर्ता पनि अनुसन्धानको घेरामा ल्याउने तयारी गरिएको छ । 
सुन प्रकरणको लहरो तान्दा पहिरो खसे जस्तै हुने पनि अनुमान गरिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी आईजीपी नियुक्त गर्ने प्रकरणको देखाएको विवादास्पद चत्रिरका पछाडि सुन काण्डमा जोडिने अनुमान राजनीतिक बजारमा गर्न थालिएको छ । 
जयबहादुर चन्दलाई आईजीपी बनाउन देउवाले हदैसम्मको प्रयास गरेका थिए । अदालतले देउवाको निर्णयलाई खारेज गरिदिएपछि मात्रै उनले प्रकाश अर्याललाई आइजीपी बनाएका थिए । करिब ४७ टन सुन नेपाल अवैध रुपमा भित्रिएको छ । त्यसमा देउवा पत्नी आरजू रणाको नाम समेत मुछिएको छ  । शालिमार ज्वेलर्स, लक्की ज्वेलर्सलगायतका सुन पसलका साहु जीहरुसँग आरजुको विशेष सम्बन्ध रहेको तथ्यहरु खुल्दै गएका छन् । यस्तै डिजेन्द्र तथा अन्य सुन चाँदी व्यवसायीहरुसँग पनि आरजूको खानपानको सम्बन्ध रहेको अनुसनधानमा संलग्न अधिकारीले तथ्य फेला पारेका छन् । 
छानबिन समितिलाई कुनै दबाव बिना काम गर्न दिने हो भने सुन प्रकरणमा काँग्रेसका केही उच्च नेता सहित पूर्व प्रहरी प्रमुख देखि नवराज सिल्वाल, रमेश खरेल समेत पर्ने सम्भावना बढेर गएको छ । सर्वेन्द्र खनाललाई वर्तमान सरकारले आइजीपीमा नियुक्त गरेपछि राजीनामा दिएका रमेश खरेलले त आनै श्रीमतीलाई सुराकी राखेर कमिसन समेत पड्काएका थिए । सुन काण्डमा ठूला माछा पर्ने सम्भावना बढेर गएपछि छानविन समितिलाई प्रभावमा पार्न राजनीतिक चलखेल तिव्र पारिएको छ । सरकारका उच्च अधिकारीदेखि प्रधानमन्त्रीसम्म भेटघाट गरेर जसरी भएपनि केश डिसमिस पार्न सुन तस्करीमा संलग्न व्यक्ति नै लागिपरेका छन् ।  ३३ किलो सुन तस्करी र शाक्य हत्या अनुसन्धानमा छानबिन समितिले ६ प्रहरी अधिकारीलाई हिरासतमा लिइसकेको छ । पूर्वडिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र संजय राउत, सइ बालकृष्ण सञ्जेल र जवान बिष्णु खड्का पक्राउ परेपनि एसएसपी श्याम खत्री फरार रहेका छन् । 
छानबिन समितिकाअनुसार  सुन तस्करीका मुखिया भनिएका चुडामणि उप्रेतीको पूर्व आईजिपीहरु प्रकाश अर्याल र उपेन्द्रकान्त अर्यालसँग निकट सम्बन्ध रहेको पाइएको छ । निकट सम्बन्ध भएकै आधारमा नै तत्कालीन प्रहरी प्रमुख प्रकाश अर्याललाई उप्रेतीले फोन गरेर सनम शाक्य हत्या प्रकरण मिलाइदिन आग्रह गरेका थिए । त्यसवापत मोटो रकम उपलब्ध गराउने समेत उप्रेतीले बताएका थिए । 
त्यस्तै विमानस्थलमा काम गरेका अन्य प्रहरी अधिकारीहरुसँग समेत उप्रेतीको सम्बन्ध देखिएको र दोस्रो चरणको अनुसन्धानमा ती प्रहरी अधिकारीहरुलाई पक्राउ गर्ने तयारी भएको छानबिन समितिले जानकारी दिएको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया