काठमाडौं – गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपियाँ पर्ने जग्गामा भव्य भवन ठडिएको छ ।
काठमाडौं महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका निकायले सो गुठीको नाममा रहेको जग्गा जोगाउने पहल नगर्दा करिब १५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको हो ।
सो जग्गामा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादर पाण्डेले १५ तले भब्य भवन बनाई छाया सेन्टर सञ्चालन गर्नुभएको छ । स्थानीय जनताले पटक–पटक आन्दोलन गर्दासमेत कुनै सुनुवाइ हुन सकेको छैन । विवाद चलिरहेकै अवस्थामा काठमाडौं महानगरपालिकाले सो भवनको नक्सा पास र निर्माण सम्पन्नसमेत दिइसकेको छ ।
पाण्डेकी आमा छायादेवीको नाममा निर्माण गरिएको सो केन्द्रले करिब १२ रोपनी क्षेत्रफल ओगटेको छ । सो भवनको स्वामित्व तीन जनाको रहेको छ । भवनमा करिब ३० व्यक्तिको लगानी छ ।
‘हामीले गुठीको जग्गाको भवन निर्माण गर्ने क्रममा जग हाल्दादेखि आन्दोलन ग¥यौं, अहिले पनि हाम्रो आन्दोलन जारी छ । तर जग्गा संरक्षण गर्ने विषयमा राजनीतिक दलका नेता र सरकारी निकायले कुनै चासो नदिएपछि समस्या परेको छ,’ भगवान वहालका स्थानीय एवं राष्ट्रिय पहिचाल संयुक्त संघर्ष समितिका सहसंयोजक यादवलाल कायस्थले नेपालले भन्नुभयो । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।
प्रतिक्रिया