इटहरी । सुनसरीको इटहरीमा भैंसी सुन्दरी प्रतियोगिता हुने भएको छ । किसानहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले उनीहरुले पाल्दै आएका भैसी प्रदर्शन गर्ने र उत्कृष्टलाई पुरस्कृत गरिने आयोजक वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालले जनाएको छ ।
इटहरी २ स्थित हवाईचौकमा आगामी वैशाख २८ गतेदेखी हुने सिरुवा मेला साँस्कृति महोत्सवमा यो प्रतियोगिता हुने पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।
प्रतियोगितामा किसानले ल्याएका बलिया, आकर्षक र सुन्दर भैसीमध्ये पशुका डाक्टरहरुले उत्कृष्ट छनौट गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा निःशुल्क अवलोकन तथा सहभागि हुन सकिने बताइएको छ । भैसी सुन्दरी प्रतियोगितामा सहभागि हुन चाहने किसानका लागि निःशूल्क फारम भेटेनरी पसल, दुग्ध डेरीमा उपलब्ध हुने बताइएको छ ।
साथै प्रतियोगितामा भाग लिने भैंसी ब्याएमा सुत्केरीभत्ता दिने आयोजक संस्थाले जनाएको छ । यस्तो प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको पनि आयोजकको दाबी छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना पुरस्कार जित्ने भैसी पालक किसानहरुलाई क्रमश ११ हजार, ९ हजार, ५ हजार, ३ हजार सहित बिमाको व्यवस्था गरिने आयोजक समितीका अध्यक्ष टंक दाहालले जानकारी दिए ।
प्रतिक्रिया