काठमाडौँ- ‘‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो ? तपार्इँलाई थाहा छ ?’’ काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ४ निवासी ९३ वर्षीया मोहनमाया महर्जनले उत्साहित र कौतुहलताका साथ सोध्नुभयो ।
नेपाल सरकारले आगामी वर्षको वार्षिक बजेटमा ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक भत्ता दुई हजारबाट बृद्धि गरी तीन हजार रुपियाँ पु¥याएपछि ज्येष्ठ नागरिकको प्रतिक्रिया बुझ्ने क्रममा उहाँहरू दङ्ग देखिनुभयो ।
नुवाकोट जिल्लाको पहिरे ढुङ्गाना गाउँका ८६ वर्षीय मित्रप्रसाद ढकालले प्रसन्न हुँदै भन्नुभयो, ‘‘गाउँघरमा त मासिक तीन हजार रुपियाँले खान नै पुग्छ ।’’ तारकेश्वरधाम (गुम्बा) मा भजनकीर्तनमा भेटिनु भएका ढकाल र उहाँका साथीहरू भत्ता बढेकोमा निकै खुसी देखिनुहुन्थ्यो । उहाँहरूको जिज्ञासा थियो, बढेको भत्ता साउनदेखि मात्रै पाउने हो कि अहिलेबाटै ?
काठमाडौँको दक्षिणकाली निवासी ८४ वर्षीया सीता भट्टराईले भत्ता बढेको समाचार नातिहरूबाट थाहा पाउनुभयो । गोरखापत्रसँगको कुराकानीमा भट्टराईले हाँस्दै भन्नुभयो, ‘‘सुरुमा मासिक एक सय रुपियाँ दिएको थियो, अहिले घरमै बसेर तीन हजार रुपियाँ पाउने कुरा सुन्दा राम्रो लाग्यो ।’’ यी देशका झण्डै १३ लाख ज्येष्ठ नागरिकका प्रतिनिधि आवाज हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ज्येष्ठ नागरिकको मासिक भत्ता दुई हजारबाट बढाई तीन हजार रुपियाँ पु¥याएको घोषणा गर्नुभएपछि घर–घर, बस्ती–बस्ती र टोल–टोलमा यस विषयमा चर्चा चल्न थालेको छ । वृद्धवृद्धा खुसी हुन थालेका छन् ।
सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, एकल (विधवा) महिला, ६० वर्ष उमेर पुगेका दलित र कर्णालीका ज्येष्ठ नागरिक, पूर्ण तथा आंशिक अपाङ्गता र लोपोन्मुख आदिवासी÷जनजाति र बालबालिका समेटिन्छन् । सामाजिक सुरक्षा कार्यक्रमका लागि आगामी आर्थिक वर्षक लागि कुल ६४ अर्ब ५० करोड रुपियाँ विनियोजन गरिएको छ । गाेरखापत्रमा खबर छ ।
प्रतिक्रिया