यसकारण १६ दिनदेखि रोकियो मेलम्चीको काम

७ बर्ष अगाडि
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीले काम नगर्दा १६ दिनेदेखि आयोजनाको काम ठप्प भएको छ ।
खानेपानी मन्त्रालयले ठेकेदार कम्पनी सिएमसीलाई नियमित रुपमा रकम भुक्तानी गरे पनि सिएमसीको केन्द्रीय कार्यालयले नेपालमा काम गर्ने शाखालाई रकम भुक्तानी नगर्दा काममा अवरोध आएको हो ।
एसियाली विकास बैंकको ऋण अनुदानमा सञ्चालित खानेपानी आयोजनाको सिएमसी ठेकेदार कम्पनि हो । नेपाल सरकारले मेलम्चीमै काम गर्ने कम्पनिलाई सिधै भुक्तानी दिने व्यवस्था नभएकाले मन्त्रालयले सिएमसीको केन्द्रीय कार्यालय इटालीमा रकम भुक्तानी गर्ने गर्दछ । केन्द्रीय कार्यालयले ठेकेदार कम्पनिलाई भुक्तानी नदिँदा काम प्रभावित भएको हो ।
गत चैत २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले मेलम्ची आयोजनाको २७ किमी लामो सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरेपछि असार मसान्तसम्म सुन्दरीजलको जलाशयमा पानी खसाल्ने लक्ष्य राखिएको थियो । तर, ‘ब्रेक थ्रु’लगत्तै सिएमसी कम्पनीले नेपाल सरकारले केन्द्रीय कार्यालयमा रकम पठाए पनि आफूहरुको हातमा नआएको भन्दै काम रोकेको हो ।
ठेकेदार कम्पनि, स्थानीय सरोकार समिति, मेलम्ची खानेपानी बोर्ड र मन्त्रालयका कर्मचारीको मिलेमतोमा काम रोकिएको मन्त्रालयको एक उपसचिवले बताए । उनले भने, ‘मेलम्चीलाई धेरैले दुहुनो गाई बनाए । अहिले आयोजना सम्पन्न हुने भएपछि दूध नपाउने पीरले उनीहरु काम प्रभावित गर्न खोज्दैछन् ।’
काम ढिलो हुँदा आयोजनाको लागत बढ्ने र नियमित रुपमा आउने बोनस र भत्ताको सुविधा पाइने कारण ठेकेदार कम्पनि, मेलम्ची खानेपानी बोर्ड र मन्त्रालयका कर्मचारीहरु काम ढिलो गराउने बहानामा छन् । यता, स्थानीय सरोकार समितिले पनि मन्त्रालयसँग बार्गेनिङ गरेर काममा विभिन्न अवरोध गरिरहेको छ ।
स्थानीय सरोकार समितिका अध्यक्ष उपेन्द्र तामाङले त ‘ब्रेक थ्रु’को औपचारिक कार्यक्रममै यत्तिकै मेलम्चीको पानी काठमाडौं लैजाँदा आफूहरु चुप लागेर नबस्ने चेतावनी नै दिएका थिए । मेलम्ची आयोजनामा कन्सल्टेन्टको काम गरिरहेको इप्टिसाले पनि इञ्जिनियरिङमा ढिलासुस्ती गरिरहेको छ ।
१५ दिनदेखि रोकिएको आयोजनाको काम सुचारु नहुँदा असार मसान्तसम्म सुन्दरीजलमा पानी खसाल्ने मन्त्री बिना मगरले लक्ष्य पनि अधुरै हुने देखिन्छ । ‘ब्रेक थ्रु’ भए पनि सुन्दरीजलसम्म पानी ल्याउन गर्नुपर्ने निर्माणका थुप्रै काम अहिले पनि बाँकी छन् ।
२६ किमी लामो सुरुङको काम फिनिसिङ गर्न अझै थुप्रै समय लाग्छ । हाल आयोजनामा हेर्डवक्र्सको काम ठप्प भएको छ । निर्माण सामग्री पर्याप्त मात्रामा उपलब्ध छैनन् भने ठेकेदार कम्पनिले पेट्रोलियम पदार्थ ढुवानी नै गरेको छैन । तीन सिप्ट काम हुनेमा आयोजनामा प्राविधिक र मजदुर नहुँदा एक सिप्ट काम पनि हुन सकेको छैन ।
सुरुङको भेन्टिलेसनका लागि आयोजना प्रमूखले पनि खासै चासो लिएका छैनन् । पानी आइहाले पनि काठमाडौं उपत्यका खानेपानी लि (केयुकेएल) ले उपत्यकामा खानेपानी बितरण गर्ने पूर्वतयारी गरेको छैन ।
सचिव कृष्णराज बिसीमा खानेपानी सम्बन्धि प्राविधिक ज्ञान नहुँदा ठोस निर्देशन दिन सकेका छैनन् । १५ दिनदेखि रोकिएको काम छिट्टै सुचारु हुने लक्षण देखिँदैन । अहिलेकै परिस्थितिमा असार मसान्तसम्म सुन्दरीजलमा पानी झर्ने र दशैंसम्म उपत्यकाबासीलाई पानी बितरण गर्ने सम्भावना टरेको छ ।
काम रोकिएपछि मन्त्री बिना मगरले आयोजनाबारे चासो राखेकी छिन् । उनले सरकारले ठेकेदार कम्पनिको केन्द्रीय बैंकमा रकम जम्मा गर्दा पनि काम रोकिएको भन्दै मातहतका निकायलाई समस्या समाधानका लागि निर्देशन दिएकी छिन् । तर, अहिलेसम्म समाधानको ठोस परिणाम आउन सकेको छैन ।
७ बर्ष अगाडि

प्रतिक्रिया