स्याउमा सिँचाइ अभाव

६ बर्ष अगाडि

सिँचाइको अभावले जुम्लाका किसानले स्याउबाट सोचेजस्तो आम्दानी लिन सकेका छैनन् । स्याउका बगैँचा भएका ठाउँमा सिँचाइको सुविधा नहुनु र भए पनि बगैँचासम्म पानी ल्याउनका लागि विभिन्न समस्या भएकाले किसानले सिँचाइ गर्न पाएका छैनन् । 
    
स्याउका बिरुवाको वृद्धि विकास र उत्पादन बढाउन सिँचाइ महत्वपूर्ण हो । बिरुवा लगाउने बेला, मुना पलाउने बेला, फूल फुल्ने बेला, चिचिला तथा फल लाग्ने बेलामा पानीको मात्रा मिलाइ सिँचाइ गर्नु पर्दछ । परम्परागत हिसाबले कुलोबाट सिँचाइ गर्दा धेरै पानीको आवश्यकता पर्ने, अनावश्यक ठाउँमा पानी बग्दा भू–क्षय हुनेजस्ता समस्याले कृषकले धेरै नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । 
    
हाल प्रचलनमा आएका थोपा सिँचाइ तथा फोहरा सिँचाइका माध्यमबाट सिँचाइ गर्दा बगैँचाको शुरुका वर्षमा अन्तरबाली लगाउन र बगैँचालाई आवश्यकताअनुसार सिँचाइ दिन सकिने हुँदा यी प्रविधि नै उपयुक्त देखिन्छन् । स्याउ बगैँचाको माटोमा चिस्यानको मात्रा हेरी पानी लगाउनु पर्दछ । सिँचाइले स्याउका बिरुवा हुर्कन र गुणस्तरीय फल उत्पादनमा सहयोग गर्ने स्याउ सुपरजोनका प्रमुख टीकाराम शर्माले बताउनुभयो । 
    
उहाँका अनुसार यतिबेला स्याउ बगैँचामा सिँचाइ गर्दा राम्रो हुने गर्छ । सिँचाइको अभाव भएको ठाउँमा लिफ्ट प्रविधिबाट पानी तान्ने काम भइरहेको उहाँको भनाइ छ । चन्दननाथ नगरपालिका–१०  खल्लागाउँमा नदीबाट पानी तानेर स्याउ बगैँचामा सिँचाइ गर्न थालिएको छ । स्याउ सुपरजोनको सहयोग र स्थानीयको श्रमदानबाट रु २६ लाखको लागतमा लिफ्ट प्रविधिबाट सिँचाइको व्यवस्था गरिएको छ । पच्चीस जना किसानका स्याउ बगैँचामा सिँचाइ सुविधा दिन नदीबाट पानी तानेर बगैँचासम्म पु¥याइएको शर्माले बताउनुभयो । सिँचाइको अभाव भएकाले खल्लागाउँका स्थानीयलाई लक्षित गरी नदीबाट पानी तानिएको हो ।
    
    त्यहाँका किसानले लेकाली फलफूल तथा उत्पादन समूह गठन गरी सिँचाइको व्यवस्था गरिएको समूहका अध्यक्ष अग्ना शाहीले बताउनुभयो । उहाँका अनुसार सिँचाइको अभावले राम्रोसँग स्याउ उत्पादन हुन नसकेको भन्दै अब भनेकै समयमा सिँचाइ गर्न पाइने छ । सिँचाइको सुविधा पुगेकाले सबै किसानले आलोपालो गरी स्याउ बगैँचामा सिँचाइ गर्ने शाहीको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया