साञ्जेन र रसुवागढीको विद्युत् खेर जाँदै, प्राधिकरणलाई नै थाहा छैन कहिले बन्छ सवस्टेशन र प्रसारण लाइन !

७ बर्ष अगाडि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ध्यान नदिदा रसुवागढी, साञ्जेन र माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् खेर जाने आशंका बढेर गएको छ ।
प्राधिकरणले प्रस्तावित चिलिमे हवको काम हालसम्म सुरु नगर्दा यस्तो आशंकामा बल पुगेको हो ।
प्राविधिक तयारी तथा अन्य काम भएपनि सवस्टेशन तथा प्रसारण लाइन निर्माणका लागि हालसम्म देखिने गरी कुनै पनि काम अगाडि बढ्न सकेको छैन ।
तीन वटै आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगीरहेको बेला सवस्टशेन तथा प्रसारण लाइन निर्माणको कामले गति नलिएका कारण विद्युत् खेर जाने त होइन भन्ने आशंका तीन वटै आयोजनाले गर्न थालेका छन् ।
लामो समयसम्म जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा प्रयोगको समस्यामा अल्झिएको सवस्टशेन तथा प्रसारण लाइनको विषयमा ठोस र देखिने गरी प्रगति नहुनु नै आयोजनाका लागि खतराको घन्टी बनीरहेको छ ।
त्यसो त साञ्जेन र माथिल्लो साञ्जेन आगामी एक वर्ष भित्र निर्माण सम्पन्न हुने अवस्थामा रहेको छ । रसुवागढी जलविद्युत् आयोजना भने सन् २०१८ को डिसेम्बरमा सकिने छ ।
आयोजना निर्माण सम्पन्न हुने चरणमा पुग्दा समेत प्राधिकरणले ठेकेदार परिचालन तथा अन्य सहजीकरणमा ध्यान दिन नसकेको भन्दै गुनासो पनि बढ्न थालेको छ ।
काम सुस्त भएका कारण तोकिएको समयमा नै सवस्टेशन तथा प्रसारण लाइन निर्माण सम्पन्न होला भन्ने कुनै आधार नदेखिएको बताइन्छ ।
निर्माणाधिन आयोजनाका एक प्रमुखले भने प्राधिकरणको हालको गति हेर्दा सवस्टेशन तथा प्रसारण लाइन निर्माणको काम सन् २०२० सम्म पनि सकिने स्थितीमा छैन ।
तर प्राधिकरण भने प्रसारण लाइन निर्माण तथा सवस्टशेन निर्माणको काममा कुनै सुस्तता नभएको र गतिमा नै अगाडि बढीरहेको दावी गर्दछ । उसको दावी भने आयोजना क्षेत्रमा देखिएको छैन ।
चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रुपमा स्थापित साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषको लगानी रहेको छ । ती आयोजनाले आगामी फागुन ११ गतेदेखि साधारण शेयर(आइपिओ) जारी गर्ने तयारी समेत गरिरहेको छ । तर कामको सुस्तताका कारण नागरिकको लगानी समेत प्रभावित हुन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन भनिएको छ ।
चिलिमे हब समयमा तयार नहुने हो भने चिलिमे जलविद्युत् कम्पनी अन्तर्गत निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेनको विद्युत् खेर जाने आशंका हटाउने तर्फ प्राधिकरणले कुनै पहल गर्न सकेको छैन ।
चिलिमे हव जोड्ने प्रसारण लाइनको काम सुरु हुँदै
सान्जेन जलविद्युत् कम्पनीले चिलिमे हवसम्म विद्युत् जोड्ने प्रसारण लाइनको काम भने सुरु गरेको छ ।
प्रसारण लाइन निर्माणको कामलाई एक वर्ष भित्रै सक्ने गरी आवश्यक तयारी गरिएको आयोजनाले जनाएको छ । प्रसारण लाइन निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीको काम समेत सकिएको छ ।
विद्युत् उत्पादनअघि नै प्रसारण लाइन बनाइसक्नु पर्ने भएकाले सोही अनुसार काम सुरु भएको हो  । उत्पादित  विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न १३२ केभी प्रसारण लाइन निर्माण गर्नुपर्ने छ ।
माथिल्लो सान्जेनदेखि ५.४५ किलोमिटर तथा सान्जेनदेखि करिब २ किलोमिटर लामो प्रसारण लाइन निर्माण  गरेर चिलिमे हवमा विद्युत् जोडिनेछ । प्रसारण लाइन निर्माणको लागत करिब रु १७ करोड रहेको छ ।
माथिल्लो सान्जेनको ७० प्रतिशत तथा सान्जेनको ६० प्रतिशत निर्माण पूरा भएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया