नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चीनको उहान सहरको मनोरम तालकिनारमा शुक्रबार भएको भेट विशेषगरी दुई देशबीच विद्यमान असमझदारी पाखा लगाउँदै सम्बन्धलाई नयाँ दिशा दिन र नेतृत्वबीच मित्रवत् सम्बन्ध निर्माणमा केन्द्रित भएको छ ।
करिब एक वर्षअघि ७३ दिन लामो दोक्लम तनावले सम्बन्धमा चिसोपन महसुस गरेका यी दुई देशका शीर्ष तहमा भएको अनौपचारिक भेटघाटले सम्बन्धमा हार्दिकता ल्याउने अपेक्षा गरिएको छ । सन् १९८८ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी र चीनका तत्कालीन सर्वोच्च नेता तेङ सियाओ पिङबीच सुमगुरङ चुमा भएको अनौपचारिक भेटवार्तापछि दुई देशका कार्यकारी प्रमुखबीच चीनमा भएको यो पहिलो भेट हो, कान्तिपुरमा खबर छ ।
२६ अप्रिल साँझ सिधै उहान ओर्लेका मोदीले दुईदिने बसाइमा सीसँग आधा दर्जन पटक भेट्ने छन् । शुक्रबारको भेटमा सुरक्षा सल्लाहकार अजित डोभल र विदेशसचिव विजय गोखले पनि सँगै थिए भने शनिबार एक्लाएक्लै वार्ता हुनेछ, त्यहाँ दोभासे मात्रै सहभागी हुनेछन् । शनिबारै दुई नेताले तालकिनारमा लामो सयर र नौका बिहारसमेत गर्ने बताइएको छ ।
विश्लेषकहरूले यो भेटलाई भारत र चीन दुवैको ‘कोर्स करेक्सन’ का रूपमा अथ्र्याएका छन् । अमेरिकाले आँगनमै रहेको उत्तर कोरियामा विस्तार गरेको भूमिका, विश्वव्यापार संगठनको मर्मविरुद्ध आफ्ना वस्तुमाथि लगाएको प्रतिबन्धजस्ता घटनाले पनि चीनले भारत, जापान, भियतनामलगायत छिमेकीसँग समझदारी बढाउने बाटो अपनाएको देखिन्छ । मोदी र सी भेटवार्तालाई त्यसैको एउटा कडीका रूपमा लिइएको छ । भेटलाई सफल बनाउन दुवै पक्षले ‘कचल्टिएका पुराना विवाद’ माथि छलफल नगर्ने जनाएका छन् ।
भारतीय पक्षले सीमा, आणविक आपूर्ति समूहको सदस्यता, पाकिस्तानको लडाकु समूहलाई आतंकवादी सूचीमा दर्ता र बीआरआईजस्ता पुराना विवादमाथि चर्चा नहुने दाबी गरेको छ । मोदी भ्रमणका लागि अनुकूल वातावरण निर्माण गर्नैका लागि चिनियाँ उच्च अधिकारीले पनि दोक्लम विवाद आपसी विश्वासको कमीले सिर्जना भएको बताएका छन् । भारतीय थिंक ट्यांक आईडीएसएका रिसर्च फेलो निहार नायक यो भेटबाट दुई मुलुकबीचको सम्बन्धमा कुनै ‘मेजर ब्रेक थु्र’ हुनेभन्दा पनि असमझदारी हटाउन सहयोग पुग्ने ठान्छन् । दुई नेताबीचको भेटमा भारतमा चिनियाँ लगानी, बीआरआई र सिपेकका विषयमा चर्चा हुने उनको अनुमान छ । ‘उहाँहरूको भेटमा व्यापार, जलवायु परिवर्तन, ऊर्जा, सिपेकजस्ता विषयमा छलफल हुनेछ,’ उनले भने ।
यो भेटलाई मूर्त रूप दिन प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार डोभलसँगै विदेशसचिव गोखलेको पनि विशेष भूमिका रहेको बुझिएको छ । मार्च पहिलो साता बेइजिङ ओर्लिएका डोभलले नै दुई नेताबीचको अनौपचारिक भेटका लागि चाँजोपाँजो मिलाएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् । संयोग नै मान्नुपर्छ, सन् १९८८ मा राजीव गान्धी र तेङ सियाओ पिङबीच भेट हुँदा गोखले भारतीय दूतावासमा प्रथम सचिव थिए । अहिले उनी विदेश सचिव छन् ।
प्रतिक्रिया