मेरोजब डटकमको समन्वय र एस कलेजको आयोजनामा प्लेसमेन्ट डे कार्यक्रमको आयोजना गरिएको छ । कलेजमा अध्ययनरत वा अध्ययन गरिसकेका विद्यार्थीलाई विभिन्न संघसंस्थामा रोजगारीको अवसर उपलब्ध गराउन कार्यक्रम आयोजना गरिएको हो ।
एस कलेजको व्यवस्थापन संकायमा स्नातकोत्तर तह उतिर्ण गरेका विद्यार्थीका लागि प्लेसमेन्ट डे कार्यक्रम गरिएको कलेजका प्रिन्सिपल आशिष तिवारीले जानकारी दिए ।
स्वदेशभित्रै रोजगारी सिर्जना गर्न तथा विद्यार्थी र रोजगारदाताबीचको दूरी कम गर्ने उद्देश्यले कार्यक्रम गरिएको मेरो जब डटकमका बिजनेस म्यानेजर विष्णु कार्कीले बताए ।
विगत ९ वर्षदेखि सञ्चालनमा आएको मेरो जबले विभिन्न कलेजमा प्लेसमेन्ट आयोजना गरी विद्यार्थीलाई उपयुक्त संघसंस्थामा रोजगारीका लागि पहल गर्दै आएको कार्कीले बताए ।
‘अध्ययनपछि विद्यार्थी रोजगारीका लागि विभिन्न संघसंस्थामा भौंतारिनुपर्ने अवस्थालाई सहजता प्रदान गर्न मेरो जब डटकमको स्थापना गरिएको हो,’ बिजनेस म्यानेजर विष्णु कार्कीले भने, ‘रोजगारीका लागि तयार भएका विद्यार्थीलाई रोजगारदाता र विद्यार्थीबीच पुलको काम गर्छाैं ।’
उच्च शिक्षा हासिल गरिसकेका र अध्ययनका लागि बिदेसिने विद्यार्थीका लागि यस्ता कार्यक्रमले नेपालमै अवसर सिर्जना गर्ने कार्कीको भनाइ छ ।
मेरो जब डटकममार्फत अहिलेसम्म १ लाख ५० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएको उनले बताए । एस कलेजका प्रिन्सिपल तिवारीले नेपालमा उत्पादित विद्यार्थीलाई बिदेसिन नदिनु आफूहरुको उद्धेश्य रहेको बताए ।
‘स्वदेशभित्रै रोजगारी सिर्जना गर्न तथा विद्यार्थी र रोजगारदाताबीचको दूरी कम गर्न कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने ।
कार्यक्रममा गोर्खा ब्रुअरी, पेप्सी, सामसुङ मोबाइल, सिटी एक्सप्रेसलगायत विभिन्न १४ वटा कम्पनीले कलेजमा अध्ययनरत विद्यार्थीका लागि रोजगारीको प्रक्रिया अगाडि बढाएका छन् ।
प्रतिक्रिया