काठमाडौं– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राखिएको ब्यानेर माओवादीका कार्यकर्ताले हटाएकोप्रति असन्तुष्टि जनाएका छन् ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा गत बैशाख ९ गते आयोजित एमाले र माओवादी पार्टी एकता संयोजन समितिको संयुक्त कार्यक्रममा मार्क्स र लेनिनको फोटोमात्रै राखेर ब्यानर तयार गरिएको भन्दै वाइसियलका केहि नेताहरुको अगुवाईमा माओवादी कार्यकर्ताले हटाएका थिए । उनीहरुले ब्यानको विषयमा विवाद झिकेपछि पछि दुई ब्यानर राखेर ढिला गरी कार्यक्रम सुरु गरिएको थियो ।
सोप्रति असन्तुष्टि जनाउँदै उनले पञ्चायतविरुद्ध उफ्रनु र बनाएर राखिएको ब्यानर फालेर उत्रनु बिल्कुल फरक विषय भएको बताए ।
कम्युनिष्ट नेताहरु मनमोहन अधिकारी, पुष्पलाल, मदन भण्डारीलगायत सामान्तवाद र पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरेर स्थापित भएको बताउँदै, उनले भने, ‘ यत्रो इतिहास बोकेका व्यक्तिहरु मनमोहन, पुष्पलाल र मदन भण्डारीको फोटो राख्दा नहटाइई भएन । यस्ता केटाकेटीहरुलाई सम्झाउनु पर्छ । बनाएर ब्यानर फालेर उफ्रनु र पञ्चायतको विरुद्ध उफ्रनु फरक कुरा हो । विस्तारै बुझ्दै जानेछन् ।’
उनले पु्ष्पलाल, मनमोहन र मदन भण्डारीलाई कसैले फाल्न खोज्छ भने कम्युनिष्ट आन्दोलन नै नरहने बताए ।
बिहिबार सानेपामा आयोजित पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औं स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले तत्कालिन अवस्थामै अधिकारीको इच्छा सवल र एकीकृत पार्टी निर्माण गर्ने रहेको भन्दै त्यो अहिले आएर आफूहरुले पूरा गर्ने क्रममा रहेको समेत बताए ।
उनले एकताअघि केहि समस्या देखिएको भएपनि समस्या हल गरेर अघि बढिने बताए ।
सिमेन्ट, पानी, गिट्टी र बालुवाको उदाहरण दिँदै ओलीले सबैको आफ्नै महत्व भएझैं एमाले र माओवादीबीचको एकतामा पनि त्यस्तै भएको बताए ।
प्रतिक्रिया