गान्धीको सोच

७ बर्ष अगाडि

काठमाडौँ – इलाहाबादमा भारतीय कंग्रेसको अधिवेशन चलिरहेको थियो । अधिवेशनमा महात्मा गान्धी, नेहरूलगायत ठूला नेताको पनि उपस्थिति थियो । एक बिहान महात्मा गान्धी नेहरू र अन्य स्वयंसेवकहरूका साथमा हातमुख धोइरहेका थिए । गान्धीले आफ्ना लागि जति पानी लिएका थिए, त्यो सकियो । उनले दोस्रोपटक पानी माग्नुपर्याे। त्यसैले, उनी केही दुःखी भए ।

गान्धीको अनुहारको बदलिँदो भाव देखेपछि नेहरूले सोधे, ‘बापु, के भयो ? तपाईं केही चिन्तित देखिनुहुन्छ नि !’ नेहरूको प्रश्न सुनेर बाँकी स्वयंसेवक पनि गान्धीलाई नै हेर्न थाले । गान्धीले मलिन अनुहार लिएर भने, ‘हेर्नुस् न, मैले जति पानी लिएको थिएँ, त्यो सकियो र दोस्रोपटक पुनः पानी लिनुपर्याे । मबाट सरासर पानीको बर्बादी भयो ।’ नेहरू मुस्कुराए र भने, ‘बापु, तपाईं अहिले इलाहाबादमा हुनुहुन्छ । यहाँ त्रिवेणी संगम छ । यहाँ गंगा र यमुना बग्छन् । यो कुनै मरुभूमि हो र पानीको कमी होस् ? तपाईंले केही बढी नै पानी प्रयोग गर्नुभयो भने पनि त्यसबाट के फरक पर्छ र ?’ 

गान्धीले लामो सास ताने र गम्भीर हुँदै भने, ‘यी गंगा र यमुना कसका हुन् ? के यी नदी मेरा लागि मात्र बग्छन् ? यिनको जलमा त सबैको समान अधिकार छ, हैन र ? त्यसैले, हरेकले राम्ररी बुझ्नु जरुरी छ, प्राकृतिक संसाधनको दुरुपयोग गर्नु गलत हो । कुनै पनि वस्तु जतिसुकै प्रचुर मात्रामा किन उपलब्ध नहोस्, त्यसको उपभोग आवश्यकताअनुसार नै गर्नुपर्छ ।’ गान्धीको विचार सुनेपछि नेहरू र अन्य स्वयंसेवक गम्भीर बने । नयाँपत्रिकाको प्रेरक प्रसंग । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया