काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताएका छन्।
शुक्रबार २६ औँ मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै दाहालले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताए। उनले अधिवेशन वा निश्चित प्रक्रियामार्फत संगठनलाई मजबुत बनाउने धारणा राखे।
संगठनलाई मजबुत बनाई जनताको चाहनाअनुसार काम गर्ने दाहालको भनाइ छ। ‘लामो समयपछि जनताले स्थिर सरकार पाएका छन्’, उनले भने, ‘यो सरकारले जनताको चाहनाअनुसार नै काम गरिरहेको छ।’ स्व। मदन भण्डारीले थालेको आन्दोलनलाई थप उचाइमा पुर्याउन सिंगो पार्टी नै लाग्ने उनको भनाइ छ। प्राप्त उपलब्धिलाई सम्मान गर्दै युग सुहाउँदो विचार अघि सार्नुपर्ने उनले बताए। दाहालले विगतका उपलब्धि संस्थागत गर्दै नयाँ ढंगले पार्टी एकता गरेको बताए।
‘विचारलाई दम्भका रूपमा लिएको भए एकता हुने नै थिएन’, उनले भने, ‘हामीले अन्धो भएर एकता गरेका होइनौँ। हामी नयाँ प्रक्रियामा जाँदैछौँ।’ जनताको बहुदलीय जनवादलाई वैज्ञानिक समाजवादतर्फ लैजानुपर्ने आजको आवश्यकता भएको दाहालको भनाइ थियो।
अध्यक्ष प्रचण्डले विभिन्न चुनौतीका बाबजुत पनि कम्युनिष्टहरु विगतका दिनदेखि सफल हुदै आएको भन्दै अबका दिनमा पनि सफ हुने बताए । उनले नेपाली जनतालाई समाजवादको मोडल दिने मात्र नभएको भन्दै अन्तराष्ट्रिय मजदुर आन्दोलन,श्रमजिवी जनता र विश्वलाई समेत समाजवादको नयाँ मोडेल दिने चुनौतीलाई स्विकार गर्ने बताए । उनले थपे कमरेडहरु संकल्प गारौ, यो एउटा महान संकल्प हुनेछ तपाई हामीले गरेको,हामी त्यो संकल्पका साथ अगाडी जाने छौ ।
प्रतिक्रिया