पुनर्निर्माणलाई अघि बढाउन सहज अवस्था आयो ः प्रधानमन्त्री ओली

७ बर्ष अगाडि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामलाई अघि बढाउन सहज अवस्था आएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले पुनर्निर्माणको कामबाट निराश नहुन पनि सबैमा आह्वान गरेका छन् ।
उनले धराहरालगायत काठमाडौंका सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिने विश्वास पनि व्यक्त गरे ।
विनाशकारी भूकम्प गएको ३ वर्ष पुगेको अवसर पारेर अग्नावशेष अवस्थामा रहेको धराहराको फेदमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माणको कामलाई अघि बढाउन अनुकूलता थपिएको स्पष्ट पारे ।
‘काठमाडौं महानगरपालिका लगायतका स्थानीय निकाय पुनर्निर्माणको कामलाई तीव्र ढंगले अघि बढाउन अग्रसर छन् यसले पनि पुननिर्माणमा सहजता हुन्छ भन्ने बुझिन्छ’ प्रधानमन्त्री भने । उनले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा सूरुवात गरेको ‘मै बनाउँछु–मेरा धराहरा’ भन्ने अभियानलाई पुनः ब्युत्याएर धराहरालगायतका सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे । पुनर्निर्माणको कामलाई अघि बढाउन अव अनुकूल वातावरण बन्न गएको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले राजनीतिक व्यवस्थापनको काममा केन्द्रित हुनुपर्दा विगतमा पुनर्निर्माणको कामले गति लिन नसकेको पनि स्मरण गराए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरे ।
उनले ‘मै बनाउँछु–मेरो धराहरा’ भन्ने अभियानलाई अघि बढाउन काठमाडौंबासी तत्पर रहेको पनि उल्लेख गरे ।
मेयर शाक्यले काठमाडौं महानगरपालिकाले जनताको सहयोगमै काठमाडौं महानगरपालिका भित्रका सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाएको पनि बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया