टिपर कि यमराज ? आतंक बढेपछि समिति बन्याे

७ बर्ष अगाडि


एक साताअघि बुटवलको पाखापानीमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भयो । परीक्षा दिएर आफ्ना बुबासँग घर फर्कंदै गरेकी पुष्पा भण्डारी सवार स्कुटरलाई टिपरले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । आँखाअगाडि नै छोरीको मृत्यु देखेका बाबु घनश्यामसहित परिवारका सदस्य अहिले विक्षिप्त अवस्थामा छन् ।

१९ चैतमा बुटवल धागो कारखानानजिकै टिपरको ठक्करबाटै बुटवलका प्राध्यापक डोलराज अर्यालको मृत्यु भयो । अर्यालको मृत्युपछि उनको परिवार शोकमा डुबेको छ । चार दिनअघि कपिलवस्तुको दोहनीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भयो ।

टिपरको ठक्करबाट हुने सवारी दुर्घटना बढेपछि अहिले आमनागरिकको टिपर र चालकलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ । ‘टिपरको आवाज सुन्नेबित्तिकै तर्सिनुपर्ने अवस्था आएको छ, जसका कारण टिपर चालकप्रति आमनागरिकमा नकारात्मक छाप बसेको छ,’ प्राध्यापक बाबुराम पाण्डेले भने । टिपर दुर्घटनाका कारण विद्यालयका विद्यार्थीमा डर र त्रासको वातावरण पैदा भएको उनी बताउँछन् ।

ओभरलोड र तीव्र गतिमा टिपरले ठक्कर दिएपछि यात्रु बाँच्ने सम्भावना कम हुन्छ । ‘टिपर आएको देख्नेबित्तिकै यमराज आयो भन्छन्, टिपरलाई देख्नेबित्तिकै ठक्कर दिन्छ कि भन्ने मनोवैज्ञानिक प्रभाव परेको छ, यसप्रति टिपर व्यवसायी संवेदनशील बन्नुपर्छ,’ पत्रकार सीपी खनालले भने ।

हिजोआज हरेक दिन हुने दुर्घटनाका कारण एक/दुई जनाको ज्यान जाने कुरा सामान्यझैं लाग्न थालेको छ । ‘आफन्तमा पर्दा मात्रै दुर्घटनाको पीडा थाहा हुन्छ,’ सँगै परीक्षा दिएर फर्कंदै गर्दा टिपरको ठक्करबाट साथी गुमाएकी बुटवलकी अस्मिता भारतीले भनिन् । टिपर दुर्घटनाले रुपन्देहीमा त्रासको वातावरण सिर्जना भएको छ । ‘बाटोमा हिँड्दै गर्दा टिपर आयो भने भागेर घरभित्रै छिर्नुपर्ने अवस्था छ,’ नील हीरा समाजकी अध्यक्ष आनिक रानाले भनिन् ।

टिपर व्यवसायी तोया लम्सालका अनुसार रुपन्देहीमा करिब १ हजार टिपर सञ्चालनमा छन् । जसमध्ये ६ सय ५० टिपरले चुनढुंगा ढुवानी गर्छन् भने बाँकी टिपरले क्रसरलगायत सामग्री ढुवानी गर्छन् । तर, ट्राफिक प्रहरीले भने चुनढुंगा बोक्ने टिपरलाई मात्रै टाइम कार्ड लागू गरेकाले समस्या भएको व्यवसायी लम्सालको तर्क छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार यो आर्थिक वर्षको आठ महिनामा प्रदेश ५ मा ३८ टिपर दुर्घटना भएका छन् । सबैभन्दा बढी गत चैतमा आठ दुर्घटना भएका छन् । अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएका प्रहरी निरीक्षक गंगाबहादुर सारुको भनाइ छ । ‘टिपर दुर्घटना बढेपछि प्रदेशका मुख्य सहरमा टाइम कार्ड सुरु गर्यौं, जसले टिपरको गति नियन्त्रण भएको छ,’ उनले भने ।

दुर्घटनापछि आफन्तजनले टिपर जलाउने चालकलाइ कुटपिट गने क्रमसमेत बढेको छ । ‘दुर्घटनापछि आफन्त गुमाएको चोटमा व्यक्तिले जस्तोसुकै कार्य गर्न सक्छन्, यसले थप जोखिम निम्त्याउँछ, यसका लागि समयमै समस्या समाधानको बाटो अवलम्बन गर्नुपर्छ,’ मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष डीपी खनालले भने ।

टिपरका कारण दुर्घटना बढेपछि प्रदेश सरकारले सडकको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । दुर्घटना कम गर्न मुख्य बजार क्षेत्रमा वैकल्पिक सडकको व्यवस्था गर्ने योजना बनाइएको भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए । उनले भने, ‘सडक सुरक्षाको विषयलाई लिएर सरकार गम्भीर छ, चालू आर्थिक वर्षमा झुम्सा, चरंगे धागो कारखाना सडकमा १० करोड रुपैयाँ बजेट विनियोजन गरी सडकलाई व्यवस्थित गरिएको छ । आगामी वर्ष पनि केही बजेट छुट्याएर सोही सडकबाट टिपर सञ्चालनका लागि रुट निर्धारण गरिनेछ ।’(रासस)

७ बर्ष अगाडि

प्रतिक्रिया