काठमाडौँ – पटक–पटकको छलफल र बहसपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पोलिटव्यूरो सदस्यहरुको अन्तिम नामावली टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पूर्व नेकपा एमाले र प्रचण्ड नेतृत्वको पूर्व माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको यही जेठ ३ गते एक वर्ष पुरा हुँदैछ । सो दिन जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवस पनि हो ।
पार्टीको काम सकेर काठमाडौं फर्किदै गर्दा मदन र आश्रित सबार जीप २०५० जेठ ३ गते चितवनको दासढुंगाबाट त्रिशुली नदीमा रहस्मय तरिकाले खस्दा उनीहरुको घटानास्थलमै ज्यान गएको थियो ।
सोही अवसर पारेर तत्कालिन नेकपा एमालेको केन्द्रीय कार्यालय मदन नगर बल्खुमा नेकपाले एक विशेष समारोह आयोजना गरेर पार्टी एकीकरण टुंगिएको घोषणाको तयारी गरेको छ ।
अन्ततः दुवै तर्फबाट अन्तिम नामावली टुंगो लगाइएको छ । सचिवालय बैठकबाट अनुमोदन हुन मात्र बाँकी रहेको र कार्यदलले टुंगो लगाएको पोलिटब्यूरो सदस्यहरूको यो नै अन्तिम सूची हुने बताउँदै एक सचिवालय सदस्य भन्छन्, ‘एक–दुई जनाको नाममा फरक मत रहे पनि अब यो सूची नै अनुमोदन भएर घोषणा हुन्छ ।’
प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जानुअघि २५ वैशाखमा पाँच जना नेता रहेको कार्यदलले पोलिटब्यूरोको सूचीलाई अन्तिम रुप दिएको हो । जसलाई जेठ ३ गते बस्ने सचिवालयको बैठकबाट अनुमोदन गरी औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको नेकपाका एक नेताले जानकारी दिएका छन् ।
ठीक एक वर्ष अघि बल्खुमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्षद्वय ओली र दाहालले मदन भण्डारीको सपना पुरा गर्दै समृद्ध नेपाल निर्माणका दुई पार्टी एकता घोषणा गरेका थिए । पार्टी एकीकरण एक वर्ष हुनै लाग्दा जनवर्गीय संगठनको एकीकरण र पोलिटव्युरो गठनलगायतका काम बाँकी छन् ।
हालसम्मको नेकपाको प्रगति भनेको स्थायी समिति, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटि निर्माण हुनु हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली बुधबार भियतनाम र कम्बोडियाको भ्रमण सम्पन्न गरी स्वदेश फर्किदै छन् । उनी फर्किए लगत्तै अन्तिम चरणमा रहेको पार्टीका सबै जनबर्गीय संगठनको एकता प्रकृयाको काम सम्पन्न हुने एक सचिवालय सदस्यले बताए ।
प्रतिक्रिया