गौतमबुद्ध विमानस्थलले पायो ७० करोड, अब काम नरोकिने

७ बर्ष अगाडि

काठमाडौं – भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि अर्थ मन्त्रालयले ७० करोड रुपैयाँ निकासा गरेको छ । 

एसियाली विकास बैंकले विमानस्थलका लागि विनियोजन गरिएको बजेट  रकम सकिएपछि अर्थमन्त्रालयले सो रकम उपलब्ध गराएको हो ।

एडीबीको १ अर्ब ३ करोड रुपैयाँ रहेकामा ७० करोड रुपैयाँ गौतम बुद्ध विमानस्थलमा खर्च गर्ने गरी स्रोतान्तर गरेको हो । अर्थले सो रकम स्रोतान्तर गरेलगत्तै पर्यटन मन्त्रालयले सोमबार एडीबीमा निवेदन पठाउने जनाएको छ । पर्यटनको निवेदन गएलगत्तै एडीबीले सीधै निर्माण कम्पनीको नाममा रकम पठाउने छ र निर्माण कम्पनीले भुक्तानी पाएपछि काम पुनः सुचारु गर्ने बताइएको छ ।

निर्माण कम्पनी नर्थवेस्टले तीन सातादेखि रकम भुक्तानी नगरेको भन्दै आइतबारबाट आयोजना निर्माणको काम रोकेको थियो । आयोजना निर्देशनालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिल रोकेका कारण भुक्तानी हुन सकेको थिएन ।

आयोजनाले आफ्नो बजेट नै नहेरी खर्च गरेको र बिल पठाएका कारण रकम निकासामा ढिलाइ भएको मन्त्रालय स्रोतको भनाइ छ ।

विमानस्थलको यो वर्षको बजेट ५९ करोड ४१ लाख रुपैयाँ थियो । तर सो रकम पहिला नै सकिएका कारण थप रकम खर्च गर्नका लागि अर्थले स्वीकृत नगर्दा समस्या उत्पन्न भएको हो । 

७ बर्ष अगाडि

प्रतिक्रिया