काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले उपत्यकाभित्रका टोले गुन्डालाई समेत नछोड्ने भएको छ ।
आइतबार परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख एसएसपी सहकुल थापाले उपत्यकामा गुन्डागर्दी गर्न खोज्ने, चन्दा माग्ने र रेस्टुरेन्टमा बिल तिर्न नखोज्ने टोले गुन्डालाई नियन्त्रमा लिएर कानुनी कारबाही गर्ने बताएका हुन् ।
अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरसँगै मिलेर काम गर्ने उनीहरुको भनाइ छ ।
उपत्यकालगायत देशमा विभिन्न ठाउँमा केही वर्षपहिला जस्तो गुन्डागर्दी गर्ने गिरोह नभए पनि साइबर अपराध र आर्थिक अपराधको नयाँ नयाँ तरिका भित्रिएको भन्दै यसमा समेत महाखाशा र परिसर संयुक्त रुपमा अगाडि बढ्ने उनीहरुको भनाइ छ ।
यसअघि महाखाशा र परिसरको नेतृत्वबीच समन्य नहुँदा विभिन्न आपराधिक घटना नियन्त्रण गर्न असहज भएको भन्दै अब दुवै कार्यालयको समन्वयमा काम गर्ने थापा र सुवेदीले बताए ।
परिसरले काठमाडौंमा घट्ने आपराधिक क्रियाकलाप हेर्ने जिम्मा पाएको छ भने अपराध महाशाखाले काठमाडौं, ललितपुर र भक्तपुर हेर्ने गरेको छ ।
प्रतिक्रिया