भूकम्पले क्षति पुर्याएको पाटन दरवार क्षेत्रका ३० मध्ये १२ सम्पदाको पुनर्निर्माण सम्पन्न भईसकेको छ । पुनर्निर्माण भईसकेका सम्पदामध्ये एक हो, पाटनको कृष्ण मन्दिर ।
पाटन दरबार क्षेत्रमा रहेको २१ गजुरको कृष्ण मन्दिर दुर्लभ प्रकारको मानिन्छ । नेपालका सबै मन्दिर प्यागोडा शैलीमा रहेको र पाटनको कृष्ण मन्दिर तले र शिखर शैलीमा रहेकाले यसको विशेष महत्त्व छ ।
यसका तीन तलामध्ये बीचको तलामा श्रीकृष्णको मूर्ति छ । श्रीकृष्णको मूर्तिको चारैतिर विष्णुका दश अवतारका मूर्ति पनि छन् । यो क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छ ।
मन्दिरको जीर्णोद्धार गर्न तीन वर्ष लागेको काठमाडौँ उपत्यका संरक्षण कोषले जनाएको छ । मन्दिरको पुनर्निर्माणको काम काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले गरेको हो ।
पुननिर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमीरेका अनुसार मन्दिर आंशिक रूपमा मात्रै क्षतिग्रस्त भएकाले अलि चाँडो पुनर्निर्माणको काम सकिएको हो । मन्दिर करिब ५७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको उनले बताए । पुननिर्माण सम्पन्न भएपछि अहिले मन्दिर सर्वसाधरणका लागि खुल्ला गरिएको छ ।
पुर्निनर्माणका क्रममा मन्दिरमा पुरानै निर्माण सामाग्रीको प्रयोग गरिएको दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । फुटेर वा मक्किएर प्रयोग गर्न नमिल्ने अवस्थाका सामग्रीबाहेक अरु मर्मत गरेर प्रयोगमा ल्याइएको उनको भनाइ छ । कार्यालय प्रमुख प्याकुरेलले भने, ‘पुराना सामाग्री बलियो भएको र पुरानै शैलीमा मन्दिर बनाउनुपर्ने भएकोले पुराना सामाग्रीको प्रयोग गरिएको हो ।’ मन्दिरको मर्मतसम्भारका लागि जर्मनीको गेर्दा हेङ्कल फाउण्डेशन र जापानी राजदूतावासको सहयोग रहेको कोषले जनाएको छ ।
स्थानीय ६२ वर्षीय वृद्ध रामनारायण महर्जनले भने, ‘मर्मतसम्भारपछि मन्दिरमा पानी चुहिने समस्या छैन । अन्य समस्याहरु पनि समाधान भएका छन् ।’
निर्माण सम्पन्न पश्चात गत भदौमा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्देशक लगायतले क्षमापुजा गरी दर्शनार्थीका लागि मन्दिर खुला गरेका थिए ।
सत्रौँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले मन्दिर निर्माण गर्न लगाएका बताइन्छ । यसका बिमहरूमा महाभारत कथामा आधारित चित्रहरू कुँदिएका छन् ।
पुजारी विष्णुधर राजोपाध्याय भन्छन्, ‘महादेवको मन्दिर बनाउन राखिएको जग्गामा राजा सिद्धिनरसिंहलाई सपनामा कृष्ण मन्दिर बनाउन भनेपछि राजाले खन्न लगाउँदा जमीनमुनि कृष्णको मुर्ति फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।’
भूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २ सय २३ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १ सय ६१, पशुपति क्षेत्र विकास कोषमार्फत २० र अन्य संघसंस्थामार्फत ४२ गरी हालसम्ममा २ सय २३ सम्पदाको पुनर्निर्माण सकिएको हो ।
त्यसैगरी, पुरातत्व विभागमार्फत चालू आर्थिक वर्षमा २ सय ५ सम्पदाको पुनःनिर्माण भइरहेको छ । भूकम्पले भत्किएका सम्पदामध्ये पशुपति विकास कोषमार्फत आठ, काठमाडौँ उपत्यका संरक्षण कोषमार्फत तीन, स्वीस सरकारको सहयोगमा दुई, श्रीलङ्काली सरकारको सहयोगमा दुई तथा चीन सरकारको सहयोगमा एक गरी २ सय २१ सम्पदाको पुनर्निर्माण चालू अवस्थामा रहेको पुरातत्व विभागको तथ्यांक रहेको छ ।
प्रतिक्रिया