काठमाडौँ – प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक न्यायसहितको समावेशी विकास र दीगो विकासका लक्ष्य हासिल गर्ने गरि बजेट तर्जुमा हुने बताएका छन् ।
आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी सन् २०३० अगावै दिगो विकासका लक्ष्यहरु हासिल गर्दे मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने तर्फ बजेट लक्षित हुने उनले स्पष्ट पारे ।
त्यसैगरी आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षको रुपमा परिचालन गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश योजनाको साथै चालु आर्थिक वर्ष सुरु गरेका कार्यक्रमको निरन्तरतालाई बजेट तर्जुमाको आधार बनाइएको खतिवडाले बताए ।
भुकम्पपछिको पुर्ननिर्माणको काम सम्पन्न गर्ने, कर प्रशासनमा सुधार, कर प्रणालीलाई पारदर्शी बनाउने तथा करको सदुपयोग, अन्तराष्ट्रिय सहयोगलाई राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने तथा प्रदेश र स्थानीय तहको समतामुलक विकास हुने ढंगले स्रोत साधनको बाँडफाँड गरिने उनले जानकारी दिए ।
प्रतिक्रिया