कामकुरो एकतिर कुम्लो बोकी ओली कम्बोडियातिर

७ बर्ष अगाडि

 काठमाडौं – नेपाली समाजमा एउटा उखान लोकप्रिय छ, काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर । नेपाली समाजमा गर्नुपर्ने काम  एउटा छ, अर्कै काम गर्नेलाई त्यस्तो उखानले सम्बोधन गर्ने चलन छ । त्यस्तै भएको छ , दुई तिहाईवाला प्रधानमन्त्री केपी शर्मा ओलीलाई । संघीयता कार्यान्वयनमा मन लगाउनु पर्ने छ । पार्टी एकताको बाँकी काम पूरा गर्नुपर्नेछ । बजेट निर्माणको तयारीमा सरकार छ । जनतालाई राहत दिने काम बाँकी छ । तर उनी बिना कुनै प्रयोजन बिहिबार भियतनाम र कम्बोडियाको भ्रमणमा निस्केका छन् । उद्देश्य नै नभएको, कुनै सम्बन्ध र स्वार्थ नै नरहेको भ्रमणमा निस्केका छन् । प्रयोजन नै नभएको भ्रमणमा निस्केर उनले राष्ट्रिय स्रोत र साधनको दुरुपयोग मात्रै गरेका छैनन्, समयको समेत बर्बाद गरेका छन् । 

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री यतिखेर पार्टी एकताको काममा दत्त चित्त भएर लागेको देख्न चाहेका छन् , नेपाली जनता । विकास निर्माणको काममा गति दिने प्रधानमन्त्रीको खोजीमा छन् , जनता । संविधान कार्यान्वयन र संघीयतालाई थप सबल बनाउने कार्यकारी प्रमुखको खोजीमा छन्, जनता । तर प्रधानमन्त्री मुखमा आएजति विषयमा बोलेर, सबै आफै मात्र जान्ने सुन्ने जस्तो बनेर, अरुको कुरै सुन्न समेत नचाहेर भ्रमणमा निस्किएका छन् । उनको किचन क्याबिनेटमा रहेकाले अनेकन नाम दिन सक्छन, अनेकन उपमा भिराएर प्रधानमन्त्रीको भ्रमण जायज भएको तर्क पनि दिन सक्छन् । तर यर्थाथमा सन्तुलित भएर विचार गर्ने हो भने प्रधानमन्त्रीको भ्रमणको कुनै अर्थ छैन , यतिखेर । उनले नेपाल वायु सेवा निगमको जहाज मात्रै  होल्ड गर्ने भएका छन् । जसका लागि उनले १४ करोड बढी रकम खर्च गराउने भएका छन् । 

भन्न त बालुवाटारमा रजगज गरेका विष्णु रिमालहरुले भन्लान् पर्यटन प्रवद्र्धनका लागि प्रधानमन्त्री बौद्ध समुदाय बढी भएको भियतनाम र कम्बोडिया जान लागेका हुन् । ती मुलुक खास अर्थमा बौद्ध धर्म मान्ने समुदाय नै बढी भएको देश हुन् । तर राज्यको साधन र स्रोत खर्च गरेर गरिने बेअर्थे भ्रमणले कुनै अर्थ नराख्ने कुटनीतिक क्षेत्रका जानकारहरुको भनाइ छ । 

अघिल्लो पटक होली वाइन काण्डका क्रममा भियतनाम र कम्बोडियाको प्रधानमन्त्री र राष्ट्रप्रमुख नेपाल आएका थिए । होली वाइन काण्डका आयोजक एकनाथ ढकाल यतिखेर लाओसमा छन् । प्रधानमन्त्रीको भ्रमणको चाँजो पाँजो समेत उनैले मिलाएको जानकारहरुको भनाइ छ । होली वाइन काण्डमा प्रधानमन्त्री र नेकपालाई फसाएको ऋण तिर्न ढकालले नै प्रधानमन्त्रीको भ्रमण मिलाएको जानकारहरुको भनाइ छ । 

प्रदेश सरकार काम गर्न नसक्ने अवस्थामा पुगेको छ । गाँउ गाँउमा सिंहदरबार आएको भनिएपनि  जनताले राहत पाएका छैनन् । स्थानीय तहमा कर्मचारी छैनन् । जसका कारण नागरिकले सहज र सरल सेवा पाउन सकेका छैनन् । मन्त्रीहरुको कार्यशैली असाध्यै कमजोर रहेको छ । स्वयम् प्रधानमन्त्री ओली भए नभएको भाषण गरेर जनतालाई हसाउन मात्रै सिमित छन् । आर्थिक अवस्था पनि राम्रो छैन , मुलुकको । दुई तिहाईको सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन सकेको छैन । पूँजीगत खर्चको अवस्था ४० प्रतिशत पु¥याउन पनि मुस्किल छ । आलोचना सुन्नै नचाहने प्रवृत्ति ओलीमा हावी छ ।

 संघीय संसद मातहतको प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले नै विपक्षीलाई बिच्क्याउने काम गरे । जुन विषयमा टिप्प्णी गर्न आवश्यक थिएन, त्यस्तो विषयमा टिप्पणी गरेर उनले जग हसाउने काम गरे । काँग्रेस त काँग्रेस नै भइहाल्यो । प्रजातन्त्र र लोकतन्त्रको नाममा काँग्रेसले आफू सबै अधिनायकवादी ठान्ने प्रवृत्ति पनि राम्रो छैन । तर मंगलबार प्रधानमन्त्री जुन स्तरमा जसरी सन्किए , त्यसले उनैलाई राम्रो गरेको छैन । बिना अर्थ कम्बोडिया र भियतनाम किन जानु प¥यो र प्रधानमन्त्री ज्यू भन्ने हैसियत उनको सचिवालयका कोही कसैले पनि राख्दैनन् । विष्णु रिमालहरु प्रधानमन्त्रीको नाम भजाएर धन्दा चलाउन व्यस्त छन् । बालुवाटार गएर उनलाई सुझाव दिने हैसियत कोही कसैले राख्दैनन् । 

नेकपाका अर्का अध्यक्ष प्रचण्ड समेत ओलीको एकलकाटे व्यवहारका कारण आजित छन् । माधव नेपाल, झलनाथ खनाल तथा वामदेव गौतम समेत ओलीको व्यवहारका कारण आजित भएका छन् । ओली कोही कसैका कुरा सुन्दैनन् । जसका कारण उनी दिनप्रतिदिन आलोचित बन्दै गएका छन् । सरकारमा काम गर्ने शैली छैन । जनतालाई राहत दिने कार्यक्रम छैन । रेल र पानी जहाजको मात्रै कुरा गर्ने स्वभावका ओली कोही कसैको सुझाव र सल्लाह समेत आलोचनाको रुपमा लिने र ठान्ने स्वभावका छन् । जसका कारण नेकपाको सरकार दैनिक जसो नै आलोचित बन्दै गएको छ । लेखक श्रीकृष्ण अनिरुद्ध गौतमले त नेपालमा सबै विषयमा जान्ने सुन्ने व्यक्ति को होलान् भन्दै ओलीको व्यग्य गरेका छन् । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया