काठमाडौं – तपाई सरकारी जागिर खाने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब घुडा धसेर पढने तयारी थाल्नुस । लोक सेवा आयोगले एकै पटक स्थानीय तहका लागि मात्रै ११ हजार ४९२ पदका लागि विज्ञापन गर्ने तयारी गरेको छ । ठूलो मात्रामा कर्मचारी माग गर्न लागेकाले तपाईले राम्रोसँग पढ्नु भयो भने निश्चित रुपमा तपाईले रोजगारी प्राप्त गर्न सक्नुहुन्छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएको छ ।
सामान्यको पत्रपछि लोकसेवाले ती पदमा आवेदन गर्ने तयारी गरेको छ । हाल ७५३ स्थानीय तहमा मात्रै १६ हजार कर्मचारीको दरबन्दी खाली रहेको छ ।
स्थानीय तहको मागका आधारमा कार्यालय सहयोगीदेखि अधिकृत तहसम्मका पदमा लोकसेवाले अब छिट्टै विज्ञापन गर्नेछ ।
मन्त्रालयका अनुसार प्रदेश १ का १३७ स्थानीय तहमध्ये ९४ का लागि २ हजार ५०५ पदमा विज्ञापन हुनेछ । यसैगरी, प्रदेश २ का १३६ स्थानीय तहमध्ये ५५ वटा स्थानीय तहका लागि १ हजार ७४९, प्रदेश ३ मा ११९ स्थानीय तहमध्ये ६२ तहका लागि १ हजार ५२७ पदमा विज्ञापन गर्ने तयारी गरिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६२ तहका लागि १ हजार ६ सय, प्रदेश ५ का १०९ स्थानीय तहमध्ये ७३ तहका लागि १ हजार ८७२, कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ३५ तहका लागि ८५५ र सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये ५६ वटाका लागि १ हजार ३८४ पदमा विज्ञापन हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया