समाजवादी पार्टीमा सुरुमै तीन समूहबीच पदीय भागबण्डा गरिएको छ । अध्यक्षद्वय बाबुराम भट्टराई, उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पदाधिकारीदेखि केन्द्रीय समितिसम्म जिम्मेवारी समूहगत बाँडफाँट गरेका हुन् । एकता घोषणामा नेताहरूले पहाड, मधेस र जनजाति क्लस्टरको प्रतिनिधित्व गर्ने दाबी गरेका थिए । यथार्थमा भने भट्टराई, यादव र राईपक्षबीच पद बाँडफाँड भएको छ ।
अध्यक्ष डा। भट्टराईले २५ सदस्य पदाधिकारीमा नौजना लिएका छन् भने यादव र राईले आठ–आठ पदाधिकारी लिएका छन् । कुल चार सय ३१ जना केन्द्रीय सदस्यमध्ये भट्टराई पक्षले एक सय ५१ जना लिएका छन् भने यादव र राईले यसअघिकै केन्द्रीय समिति कायम गरेका छन्, जसमा यादव र राईको केन्द्रीय समितिमा ५०–५० प्रतिशतको हाराहारी रहेको एक नेताले बताए ।
एकतापछि राई बलियो
तत्कालीन एमाले उपाध्यक्ष अशोक राई पार्टी परित्याग गरेपछि २०६९ सालमा संघीय समाजवादी पार्टी गठन गरे । उनी दुईपटक मन्त्री भइसकेका थिए । नयाँ पार्टी गठनपछि दोस्रो सविधान सभा निर्वाचनमा सन्तोषजनक नतिजा आउन सकेन । लगतै उनले ०७३ सालमा यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरे । एकतापछि राई यादवको छायाँमा परे । पार्टी अध्यक्ष यादव भए राई भूमिकाविहीनजस्तै भए । प्रतिनिधि सभा सांसदसमेत नभएका राई पार्टीमा कमजोर थिए । नयाँ शक्तिसँग एकता गरेपछि राई वरिष्ठ नेताको भूमिकामा उदाएका छन् ।
एकतामा तत्कालीन समाजवादी पार्टीका नेताहरूले सबैभन्दा बढी पहल गरेका थिए । पार्टी एकतापछि राई पार्टीमा वरिष्ठ नेताको रूपमा मात्रै छैनन्, उनी पक्षीय नेताहरू पदाधिकारीमा यादवको बराबरीमा छन् । सहअध्यक्षमा उनी पक्षकै राजेन्द्र श्रेष्ठ चयन भएका छन् । केन्द्रीय समितिमा यसअघि नै ५०–५० प्रतिशतको हाराहारीमा एकता गरेका थिए ।
पार्टीमा सुरुमै असन्तुष्टि
सघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता घोषणाछि केही नेताहरू असन्तुष्ट भएका छन् । नेता कार्यकर्ताको भावनाको कदर नगरेको भन्दै केही नेताले विमति राखेका हुन् । तत्कालीन नयाँ शक्तिका देवेन्द्र पराजुली, कल्पना धमला, ज्ञानेन्द्र कुमाल, रामरिझन यादव र मदन राई, भक्तबहादुर शाह, रामबहादुर बुढालगायत १५ जनाभन्दा धेरै नेता असन्तुष्ट छन् । असन्तुष्ट नेताहरूले मंगबार र बुधबार छुट्टै भेला बोलाई छलफल गरेका थिए ।
‘हामीले असन्तुष्ट नेता बोलाएर छलफल ग(यौँ,’ नेता देवेन्द्र पराजुलीले भने, ‘पार्टीमा पर्याप्त छलफल नगरी नेताले भन्ने कार्यकर्ताले सुन्ने गरेर एकता गरियो । यसमा नयाँ शक्तिको स्प्रिटअनुरूप एकता हुनुपर्ने थियो त्यो हुन सकेन ।’ उनले पार्टीभित्र अन्तरसंघर्ष भएको स्विकारे । तत्कालीन फोरम नेता कौशलराय यादवले पनि असन्तुष्टि जनाए । ‘हामीले आफ्ना कुरा शीर्ष नेतृत्वमा राखेका छौँ।’ यादवले भने, ‘यदि माग पूरा नभए विकल्प खोज्छौँ ।’ नयाँपत्रिकामा खबर छ ।
पदाधिकारी को कता ?
अध्यक्ष डा. भट्टराई समूह
उपाध्यक्ष नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी
महासचिव गंगानारायण श्रेष्ठ
उपमहासचिव डम्बर खतिवडा,
सचिवमा दुर्गा शोव, पर्शुराम बस्नेत र प्रशान्त सिंह
अध्यक्ष यादव समूह
उपाध्यक्ष युवराज कार्की,
रेनुकुमारी यादव, लालबाबु राउत
महासचिव रामसहायप्रसाद यादव
उपमहासचिव प्रकाश अधिकारी
सचिव मोहमद इस्तियाक राई
कोषाध्यक्षमा विजयकुमार यादव
वरिष्ठ नेता राई समूह
सहअध्यक्ष राजेन्द्र श्रेष्ठ
उपाध्यक्ष रकम चेम्जोङ, हेमराज राई
महासचिव रनध्वज कन्दङ्वा
उपमहासचिव दानबहादुर विश्वकर्मा
दुई सचिव पछि थप्ने
प्रतिक्रिया