काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा जग्गा सँधीयारबीच कुरा नमिल्दा उग्र रुप लिएको छ ।
कुनै पनि भौतिक संरचना वा घर निर्माण गर्दा सँधीयारसँगको आपसी सहमतिमा नक्सापास गरि भौतिक संरचना निर्माण गर्ने सामान्य नियम भएपनि एकलौटी रुपमा अघि बढ्दा घटनाले झडपको स्थिति लिएको हो ।
बुधबार गोकर्ण हाउस रेष्टुरेण्टका सञ्चालक दिपक श्रेष्ठमाथि सँधीयार हरिबहादुर श्रेष्ठ र उनका पिता राम ब. श्रेष्ठले सांघातिक आक्रमण गर्दा गोकर्ण हाउसका सञ्चालक श्रेष्ठ गम्भिर घाइते भई हाल उपचाररत छन् ।
करिब २ महिना अघिदेखिको सँधीयार विवादमा हरिबहादुरले हिजो घरको छत ढलान गर्ने तयारी गर्दै थिए । सँधीयारको नियम मिचेर सिमाना बाहिरबाट झ्यालको जग तयार गरेर हरिबहादुर अघि बढेपछि दिपक आफूमाथि अन्याय भएको भन्दै गोर्कणेश्वर नपा वडा नम्बर ३ वडा कार्यलय पुगे ।
वडा सदस्य शम्भु बिष्टले घटनाको प्रकृति अध्ययन गरी समन्वय गर्नुको साटो उल्टै दिपकलाई अपशब्द प्रयोग गर्दै हातपात गर्न सुरु गरेपछि सुनियोजित रुपमा पुगेका सँधीयार हरिबहादुर र उनका पिता राम बहादुर श्रेष्ठ दिपकमाथि खनिए ।
त्यसपछि आक्रमण सुरु भयो, दिपक भन्छन्, ‘ममाथि ज्यान मार्ने ढंगले त्रिपक्षीय आक्रमण भयो । जसोतसो उम्किए । आक्रमणले शरीरभरी चोटले गर्दा अस्पतालमा भर्ना भएको छु ।’
जनताको समस्यामा सहजीकरण गर्नुपर्ने प्रतिनिधी नै संलग्न भएर आक्रमण गरेपछि आफूमाथि अन्याय भएको भन्दै श्रेष्ठले प्रहरीमा ज्यानमार्ने उद्योग अन्र्तगत उजुरी दिएका छन् ।
आफूमाथि सांघातिक आक्रमण गर्ने बाबुछोरा र वडासदस्यमाथि कारबाही हुनुपर्ने श्रेष्ठको माग छ । यता महानगरीय प्रहरी वृत्त बौद्वले दिपक श्रेष्ठमाथि कुटपिट भएको र प्रहरीमा उजुरी हालेको जनाएको छ ।
प्रतिक्रिया