हेटौंडा – मकवानपुर प्रहरीले डेढ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा प्रहरीले बिहिबार बिहान डेढ किलो सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका किशोर ल्वागुन बिकलाई प्रक्राउ गरेको हो ।
प्रहरीले बिकको साथबाट १ किलो ६ सय ४९ ग्राम ८ सय ९० मिलीग्राम सुन बरामद गरेको छ । बिकले दुबै खुट्टाको जुत्ताभित्र र पाइन्टको खल्तीमा सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहको टोलीले हेटौंडा १५ रातोमाटेबाट सुनसहित उनलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक सिँहका अनुसार विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँ छ । कारोबारमा संलग्न बिक दोस्रो पटक लैजादै गर्दा पक्राउ परेका हुन् । बरामद सुन र कारोबारमा संलग्न बिकलाई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया