बागलुङ – बागलुङ जिल्लामा अज्ञात समुहले एनसेलका तिन टावरमा आगजनी गरेका छन् । बागलुङ नगरपालिका–७ को मुलपानी, गल्कोट नगरपालिका–८ काँडेबाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेका एनसेलको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, जेनेरेटर, यूपिएस लगायतका सामग्रीमा क्षति पुगेको छ ।
मट्टितेल तथा सुकेको घाँसपात लगाएर आगलागी गरेको बागलुङका प्रहरी नायब उपरिक्षक चिरञ्जीवी कोईरालाले बताउनुभयो । आगजनीबाट टावरमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आगजनी गर्ने समूहको पहिचान यकिन नभए पनि नेकपाका कार्यकर्ताले घटना गराएको हुन सक्ने अनुमान गरिएको छ । राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेकपाले यसअघि विभिन्न समयमा चेतावनी दिदैँ आएको थियो ।
टावरमा आगलागी भएको देखेपछि स्थानीयले गरेको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको बताएको छ । आगलागी भएका टावरहरुमा एनसेलले कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया