काठमाडौँ — म्यानपावर कम्पनी दर्ता गर्न धरौटीमा राखेको १९ रोपनी ११ आना जग्गा फुकुवा नहुँदा धादिङको एक परिवार बिचल्लीमा परेको छ । नौबिसे ५ स्थित माइला तामाङको जग्गा धरौटी राखेर वैदेशिक रोजगार विभागमा च्याङ्बा ओभरसिज दर्ता गराएका रामेछाप पकरवास ९ का धर्मभक्त लामा सम्पर्कविहीन भइसकेका छन्, कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
२०६० पुस १४ गते २५ लाख रुपैयाँ बराबरको जग्गा धरौटी राखेर दर्ता गरिएको यो म्यानपावर खारेज भएको छ । जग्गाधनी माइला तामाङको समेत मृत्यु भइसकेको छ । सञ्चालक लामा सम्पर्कविहीन भएकाले तामाङको जग्गा फुकुवा नभएको हो । ‘बूढाले किन जग्गा धरौटीमा राखे, हामीलाई थाहा छैन,’ माइलाकी पत्नी माइली तामाङले भनिन्, ‘जग्गा अंशबन्डा गर्न मालपोत पुग्दा पो रोक्का छ भन्ने थाहा पायौं ।’
सुरुमा त उनले कसले कुन प्रयोजनका लागि रोक्का गरेको भन्ने थाहै पाइनन् । ‘निकै दु:ख पाएपछि मात्रै म्यानपावर दर्ता गर्न हाम्रो जग्गा धरौटी राखिएको थाहा पायौं,’ उनले भनिन् । उनले अहिले वकिलमार्फत जग्गा फुकुवा गर्न निवेदन दिएकी छन् । विभागका अनुसार २०६४ साउन १ सम्म ५ लाख नगद र २५ लाख रुपैयाँ बराबरको जग्गा धरौटी राखेर ५ सय ९८ म्यानपावर दर्ता भएका थिए । त्यतिखेर धेरैजसो म्यानपावरले धादिङ र काभ्रेका जग्गा धरौटीमा राखेका थिए । त्यसयता मात्रै नयाँ म्यानपावर दर्ता गर्दा ७ लाख नगद र २३ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गर्नुपर्ने व्यवस्था आएको हो ।
प्रतिक्रिया