एकदिवसीय खेलमा १० हजार रन पुरा गरेका गेल वेस्टइन्डिजबाट अन्तिम विश्वकप खैल्दै

६ बर्ष अगाडि

काठमाडौँ – सन् १९९९ मा डेब्यु गरेका ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय खेलमा १० हजार रन पूरा गरेका छन् । 

इंग्ल्यान्डविरुद्ध मार्चमा शतकीय इनिङ खेलेका गेलले १० हजार १ सय ५१ रन जोडेका छन् । उनले एकदिवसीय खेलमा २५ शतक तथा ५१ अर्धशतक बनाएका छन् । 

सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा आयोजना गरेको एकदिवसीय विश्वकपमा गेलले व्यक्तिगत २ सय १५ रन बनाएका थिए । विश्वकपमा गेलले जोडेको रन व्यक्तिगत विश्व रेकर्ड हो । 

अलराउन्डर भूमिकामा समेत प्रस्तुत हुन सक्ने गेलले एकदिवसीय खेलमा एक सय ६५ विकेट लिएका छन् । उनले एकपटक पाँच विकेट पनि लिएका थिए । 

वेस्टइन्डिज टोलीको उपकप्तान बने गेल 

वेस्टइन्डिज क्रिकेट बोर्डले बायाँहाते ब्याट्सम्यान क्रिस गेललाई आसन्न एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि टोलीका उपकप्तान बनाएको छ । बोर्डले वेस्टइन्डिज टोलीको मुख्य जिम्मेवारी जासन होल्डरलाई सुम्पिएको छ । यसै महिनाको अन्त्यतिर वेल्स र बेलायतले संयुक्त रूपमा एकदिवसीय विश्वकप आयोजना गर्दै छन् । 

पाँचौँ विश्वकप यात्रा
गेलको यो पाँचौँ विश्वकप यात्रा हो । सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा उनले पहिलोपटक प्रतिस्पर्धा गरेका थिए । वेस्टइन्डिजका पूर्वकप्तानसमेत रहेका गेलले दुई सय ९८ एकदिवसीय खेल खेलेका छन् । गेलले इंग्ल्यान्डको भूमिमा अन्तिमपटक राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गर्ने बताइसकेका छन् । आफ्नो अन्तिम विश्वकप तथा एकदिवसीय खेललाई स्मरणीय बनाउने उनको भनाइ छ । ‘मैले यस विश्वकपलाई विशेष रूपमा लिएको छु,’ गेलले भारतमा चलिरहेको १२औँ इन्डियन प्रिमियर लिग दौरान भनेका थिए, ‘म आफ्नो अन्तिम विश्वकपलाई यादगार बनाउनेछु ।’ 

६ बर्ष अगाडि

प्रतिक्रिया