काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारलाई प्रतिपक्षले पनि मेरो सरकार भन्न सुझाव दिएका छन् ।
संघीय संसदमा मङ्गलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्दा कसैले अल्मलिनु र आत्तिनुपर्ने अवस्था नरहेको भन्दै लोकतन्त्रलाई आशिंक रुपमा बुझ्ने गल्ती नगर्न आग्रह पनि गरे ।
प्रधानमन्त्रीले लोकतन्त्रप्रति नै गम्भिर प्रश्न उठेको भन्ने प्रश्नको जवाफ दिदैँ भने,‘लोकतन्त्रलाई राजनीतिक स्वतन्त्रताको अर्थमा मात्रै बुझ्ने गल्ती नगर्ने, लोक भनेको जनता र तन्त्र भनेको व्यवस्था शासन हो । जनताको शासनले जनताका सम्पुर्ण पक्षहरु, जनताका आवश्यकता, अधिकार जनताले प्राप्त गर्नुपर्ने सुविधा, सहुलियत, अवसर, सुरक्षा र सम्मान, सामाजिक न्याय लगाएत समुचित न्यायलाई समेटेर, भविष्यको निम्ति सवै मानवजाति र धर्तिको निम्ति लोकतन्त्रलाई पुर्ण प्रयोग गरेको छ ।’
प्रधानमन्त्री ओलीले रेल र पानी जहाजबारे उठेका प्रश्नहरुको पनि ठट्यौली शैलीमा जवाफ दिए । ‘माननीयहरुलाई अचम्म लागेको छ । सपना रातीमात्र देखिने कुरा हो भन्ने लागेको छ । यहाँ राती देख्ने सपनाको कुरा गरेको होईन, जागै देखिने सपना हुन् यी । सहिदका सपना भनेको राति देखिने सपना हुन ? राति देख्ने सपना होइन, देश बनाउने सपना देखेको हो । एक बर्षमा केके गर्न सकिन्छ र त्यस वर्षपछि कति के गर्न सक्छौ । दीगो विकासको सपना राती निदाएर देखेको सपना हो ? सपना मात्रै बोकेको छैन, संकल्प पनि लिएको छ र अठोट पनि लिएको छ । नीति तथा कार्यक्रमले’ प्रधानमन्त्री ओलीले जवाफ दिए । उनले नीति तथा कार्यक्रमले जनप्रतिनिधिलाई मजबुत बनाउने बाटो लिएको दावी पनि गरे ।
‘जन्मसिद्ध, जनताद्धारा निर्वाचित व्यक्ति, निकाय संस्थाहरुको मान्यता हुने तर गरिमा नहुने मानसिकता देखिन्छ । हामीले त्यस्तो मानसिकता ल्याउनुभएन । जनताद्धारा चुनिएका जनप्रतिनिधि भन्दा स्वघोषित कोही सम्मानित हुँदैन’ प्रधानमन्त्रीको भनाई छ ।
प्रतिक्रिया