काठमाडौँ – समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउने अभियानमा पार्टी एकीकरण गरेर अर्को नयाँ छलाङ मारेको प्रतिक्रिया दिएका छन् ।
सोमबार राजधानीमा आयोजित संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले भने, ‘हामीले देशलाई समृद्ध बनाउनका लागि अर्को नयाँ छलाङ मारेका छौँ। हामीले सही अर्थमा देशलाई एकीकृत गर्ने काम गरेका छौं । दुई दलको बीचमा एकीकरण मात्र भएको छैन यहाँ राष्ट्रिय एकीकरण भएको छ ।’
उनले समाजवादी पार्टी समृद्धिका लागि लड्न गठन भएको भन्दै यसमा पार्टी सफल भइछाड्ने विश्वास व्यक्त गरे ।
सत्तारुढ दल नेकपाप्रति आक्रामक रुपमा प्रस्तुत भएका भट्टराईले नेकपा कम्यूनिष्ट पार्टी नभएर कमाउवादी कम्यूनिष्ट पार्टी भएको दाबी गरे । ‘नेकपापार्टी निभ्न लागेको बत्ती जस्तै हो । यदी मधेसको समाधान भएन भने देशमा अन्तर्ष्ट्रिय अखडा बन्न सक्छ । हामी विशेष गरी मधेशमा केन्द्रित भएर काम गर्ने छौँ’ उनले भने ।
सम्पूर्ण देशको नेतृत्व गर्ने तागत मधेससँग रहेको भन्दै भट्टराईले देशलाई नै तराई मधेसले बनाएको बताए । आन्तरिक राष्ट्रियता बलियो नपारिकन संघीयता बलियो नहुने उल्लेख गर्दै भट्टराईले भने, ‘तराई उठेपछि हिमाल पनि उठ्छ । छिट्टै नै आन्दोलनको आँधिबेरी आउने छ । हाम्रो संघर्षको मोर्चा सडक, सरकार र सदन हो ।’
भट्टराईले सडक पहिलो, सदन दोस्रो र तेस्रो मोर्चा सरकार भएपनि सरकारको मोर्चा भरपर्दा नहुने बताए । उनले कुनै पनि बेला सरकारबाट बाहिरिन सकिने पनि उल्लेख गरे ।
प्रतिक्रिया