प्रधानमन्त्रीको नाम लिएर मन्त्रीलाई ठिक पार्ने भन्दै धन्दा गर्ने को हुन ?

७ बर्ष अगाडि

काठमाडौं – वैदेशिक रोजगारीको नाममा म्यानपावर दलालहरुले हाल बन्द अवस्थामा रहेको मलेसिया पठाउने भन्दै भित्र भित्रै अनेकन धन्दा गरिरहेको पाइएको छ । 

श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्ट पछिल्लो समय झण्डै प्रधानमन्त्री केपी ओलीको पजनीबाट जोगिएपनि व्यापारीले भित्र भित्रै मलेसिया पठाउन पहल थालेको बताइन्छ । 

दलालहरुले भित्र भित्रै नेपाली युवालाई अन्तरवार्ताको नाममा ठगी धन्दा सुरु गरेका छन् । प्रधानमन्त्रीको नाम लिँदै केही दलालले भित्र भित्रै मन्त्री विस्टले नदिएर हुन्छ र प्रधानमन्त्रीले अनुमति दिन्छु भनेको छ भन्दै अन्तरवार्ता गराउन थालेको बताइन्छ ।

नेपाली कामदारका लागि मलेसिया औपचारिक रुपमा सुचारु नहुँदै म्यानपावर व्यवसायीले प्रधानमन्त्रीको नाम लिएर कामदार मलेसिया पठाउनका लागि छनोट गर्न थालेका छन् । सरकारले मलेसिया जाने नेपाली कामदारमाथि आर्थिक भार परेको भन्दै भिसा र बायोमेट्रिक प्रक्रिया गर्ने संस्थालाई कारबाही गरेपछि ११ महिनादेखि नेपाली कामदारका लागि मलेसिया बन्द छ । श्रम मन्त्री विस्ट प्रक्रिया पूरा नगर्दा समेत मलेसिया खोल्ने पक्षमा छैनन् । तर केही म्यानपावर दलला भने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल मार्फत प्रधानमन्त्रीसँग कुरा मिलाएको भन्दै ठगी धन्दा सुरु गर्न लागिपरेको स्रोतको दावी छ ।

चौतर्फी दबाबपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत चैत १७ गते कलिङ भिसा लागेका कामदारलाई मलेसिया जान दिने निर्णय गरेको थियो । सरकारले कलिङ भिसाका करिब ८ हजार कामदारलाई मलेसिया जाने निर्णय गरे पनि नयाँ कामदार पठाउने विषयमा भने कुनै निर्णय गरेको छैन । तत्काल निर्णय हुने अवस्था समेत रहेको छैन । तर दलाल व्यवसायीले भने जसरी भएपनि मन्त्रीलाई बाध्य पारिने भन्दै कामदार छनौट प्रक्रिया नै सुरु गरेका छन् ।

कलिङ भिसाका लागि मलेसिया खुलेपछि नयाँ कामदारका लागि पनि मलेसिया तत्काल खुल्ने सम्भावना रहेको भन्दै म्यानपावर व्यवसायीहरुले नयाँ कामदारका लागि अन्तर्वार्ता लिन थालेका हुन् । काठमाडौंका विभिन्न म्यानपावर कम्पनीमा अहिले मलेसिया जाने कामदारका लागि छनोट प्रक्रिया भइरहेको छ । गत साता काठमाडौं बाहिर धनकुटामा लालधनुष म्यानपावरले मलेसिया जाने कामदारको अन्तर्वार्ता लिँदा युवाहरुबीच झडप हुँदा प्रहरीले मलेसियन कम्पनीका दुई जना प्रतिनिधिलाई पक्राउसमेत गरेको थियो । उनीहरु यतिखेर मुद्दा खेपीरहेका छन् ।

सरकारले कलिङ भिसा खुलायो, तर अहिलेसम्म नयाँका लागि खुलाएको छैन, नयाँ कामदारको छनोट गर्न हुन्छ कि हुँदैन भनेर पनि प्रस्ट नभनेको बताइन्छ । केही म्यानपावर व्यवसायीले अन्तर्वार्ता लिएको भएपनि संघले समेत मलजल गरिरहेको बताइन्छ । कामदार छनोट गरेर राखेपछि खुलेका बेला पठाउन सजिलो हुन्छ भन्ने सोच पनि होला  भन्दै दलालहरुले कामदार छनोट सुरु गरेको बताइन्छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले मलेसियाको रोजगार खुल्नुअघि नै म्यानपावर व्यवसायीले अन्तर्वार्ता लिनु गलत भएको बताएपनि उनले नै सहयोग गरिरहेका छन् । 

भुसाललाई म्यानपावर व्यवसायीले नै मोटो नजराना बुझाएको बताइन्छ ।  कलिङ भिसा आएकाहरुलाई मात्र मलेसिया पठाउन लागिएको भएपनि नयाँका लागि नखुलेको भुसालको दावी छ । 

मलेसियासँग भएको पछिल्लो सम्झौताअनुसार कामदारको माग आए नआएको हेर्ने र त्यहीअनुसार सहमत हुने म्यानपावर कम्पनीहरुले मात्र कामदार पठाउने अवस्था छ । यदी कामदारबाट अन्तर्वार्ताका नाममा रकम असुलेको पाइएमा कारबाही हुने मन्त्री विस्टको दावी छ । तर झण्डै प्रधानमन्त्रीको पजनीमा परेका मन्त्री विस्टले कस्तो कारवाही गर्लान् त्यो भने प्रतिक्षाको नै विषय बनेको छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया