एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले च्याम्पियन्स लिग अन्तरगतको बार्सिलोनाविरुद्धको सेमिफाइनलको दोस्रो लेगको खेल गुमाउन सम्भावना बढेको छ ।
प्रिमियर लिग अन्तरगत न्युक्यासलमाथि ३–२ को कठिन जित निकालेको खेलमा सलाहले टाउकोमा चोट बोक्दै दोस्रो हाफमा मैदानबाट बाहिरिनु परेको थियो । खेलको ६८औं मिनेटमा हेडिङ गर्ने प्रयास गर्दा सलाह न्युक्यासलका गोलरक्षक मार्टिन डुब्राभ्कासँग ठोकिन पुगेका थिए । लगत्तै उनी भुइमा बजारिन पुगेको थिए ।
चोट बोकेलगत्तै रेफ्रीले खेल रोक्दै मेडिकल टोलीलाई स्टेचरसहित मैदानमा बोलाएको थिए । मेडिकल टोलीले सलाहको अवस्था सामान्य रहेपनि च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग र लिगको अन्तिम खेल खेल्न सक्ने नसक्ने अहिल्यै भन्न नसकिने बताएका छन् ।
बार्सिलोनाविरुद्धको दोस्रो लेगको खेल मंगलबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुदैछ । लिभरपुल पहिलो लेगमा ३–० ले पछि छ । मुख्य फरवार्ड नै चोटिलो बनेपछि लिभरपुललाई गम्भीर धक्का लागेको छ । यस्तै प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले मे १२ मा लिगको अन्तिम खेलमा वल्भ्ससँग खेल्दैछ ।
प्रतिक्रिया