काठमाडौँ — भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि-१६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ ।
भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ-बायाँको १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर, इमाडोलका ज्ञानबहादुर थापाकानाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएका हुन् । नापीको नक्सा र मालपोतको स्रेस्तामा कित्ता नं. ४२४ को उक्त जग्गा 'खोलो/सरकारी' उल्लेख छ ।
आजादले २०२१ सालको नापीदेखि फिल्डबुकमा नेपाल सरकारका नाममा दर्ता कायम भएको र २०५३ सालसम्म कसैले आफ्नो हो भन्ने दाबी नगरेको जग्गा ठोस प्रमाण र आधारबिनै व्यक्तिका नाममा छुट दर्ता गर्न आदेश दिएका हुन् । साविक दिव्यश्वरी गाविस र हाल मध्यपुर थिमि-१६ मा पर्ने कित्ता नं. ४२४ मा ६७ रोपनी ८ आना २ दाम जग्गा छ । आजादले १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा भने पनि पूरै कित्ता अर्थात् ६७ रोपनी ८ आना २ दाम नै थापाका नाममा छुट दर्ता हुने आशयको फैसला गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया