माटोमुनि भेटियो १८ तोला सुन

७ बर्ष अगाडि

काठमाडौँ – क्याम्पस भवनको जग खन्ने क्रममा अछाममा माटोमुनि गाडिएको अवस्थामा १८ तोलाबराबर सुनका परम्परागत गहना भेटिएका छन् । 

साँफेबगर नगरपालिका वडा नम्बर २ श्रीकोटस्थित त्रिपुरासुन्दरी क्याम्पसको भवन निर्माणको क्रममा जग खन्दा सुनका गहना भेटिएका हुन् । सुनसँगै चाँदी र अन्य बहुमूल्य धातुसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जग खन्ने क्रममा मजदुरले पोकोभित्र ती गहना भेटेका थिए । उनीहरूले ती गहना आपसमा बाँडेका थिए । तर, भागबन्डा गरेर सुन बाँडिएको सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि सुनका गहना भेटिएको सार्वजनिक भएको हो । प्रहरीले अहिले पनि उनीहरूलाई नियन्त्रणमै राखेको छ । 

पक्राउ पर्नेमा साँफेबगर ४ का २२ वर्षका हरिजन साउद, ३० वर्षका मीन ठकुल्ला, ३५ वर्षका कृष्ण ठकुल्ला, ३० वर्षका महेन्द्र बुढा, १९ वर्षका पिटर ठकुल्ला, २४ वर्षका कालु नेपाली र २४ वर्षकै आशिष लामा छन् । उनीहरूबाट बरामद गरेपछि प्रहरी स्थानीय व्यवसायीसँग ती धातुको जाँच गराएको थियो । जाँचको क्रममा १८ तोला ७९ लाल सुन र अन्य बहुमूल्य धातु रहेको पुष्टि भएको हो ।

प्रहरीले भने बरामद वस्तुको पहिचान गर्न अध्ययन जारी रहेको जनाएको छ । ‘हामी अध्ययनकै क्रममा छौँ,’ जिल्ला प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने, ‘भेटिएको वस्तुको नापतौल भइसकेको छ । बाँकी कुरा अध्ययनपछि मात्र सार्वजनिक गरौँला ।’ नयापत्रिकामा खबर छ ।

सुन भेटिएको स्थानमा विक्रम संवत् १४२४ तिर तत्कालीन राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ । वि.सं. १४०९ मा डोटी राज्यलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनी श्रीकोटमा दरबार बनाएर बसेका थिए । सोही वेला सुनसहितका बहुमूल्य धातु राखिएको हुन सक्ने आशंका गरिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया