के हो आस्वा र सिआस्वा ? यसो भन्छ धितोपत्र बोर्ड

७ बर्ष अगाडि

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारलाई थप सहज बनाउन आगामी फागुन ११ गतेदेखि केन्द्रीय आस्वा प्रणाली लागू गर्ने भएको छ । 

बोर्डले आज एक सूचनामार्फत आस्वा प्रणाली र सेन्टर आस्वा प्रणालीमा फरक रहेको भन्दै त्यसका कुनै दुविधा नराख्न समेत आग्रह गरेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ)ले सि–आस्वा प्रणाली आगामी फागुन ११ गतेदेखि लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा बोर्डले त्यसका लागि सहजीकरण गरिरहेको र आवश्यक मार्गदर्शन गरिरहेको जनाएको छ । 

सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बराबरको रकम रोक्का राखी धितोपत्र बाँडफाँडपछि आवेदनको बाँडफाँड परेको धितोपत्र बराबरको रकम मात्र खाताबाट खिच्ने व्यवस्थालाई आस्वा प्रणाली भनिदै आएको छ । 

सिआस्वामा भने घरमै बसेर पनि धितोपत्र खरिदका लागि आवेदन दिन सकिने भएकाले लगानीकर्ताले आवेदन गर्दा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट अनिवार्य रुपमा रजिष्ट्रेशन नम्बर लिनुपर्ने व्यवस्था गरिएको छ । उक्त नम्बर लिई लगानीकर्ता स्वयम् आफै अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । 

त्यसरी आवेदन दिन नसक्नेका लागि विद्यमान आस्वा फारम भरी बैंक तथा वित्तीय संस्थाबाटै आवेदन दिन सकिने भएकाले दुविधा नराख्नसमेत बोर्डले आग्रह गरेको छ । ‘धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ मार्फत आस्वा प्रणाली लागू गरिएको हो । 

धितोपत्रको सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवासम्बन्धी कार्यनिर्देशिका, २०७४ बोर्डले यसअघि नै स्वीकृत गरिसकिएको छ । 

सिआस्वा विशेष गरी बैंक तथा वित्तीय संस्थाका लागि बढी उपयुक्त हुने बोर्डको भनाइ छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया