काठमाडौं – कुनै समय साधारण शेयर बिकाउन बिक्री प्रबन्धकलाई हम्मे हम्मे पर्ने गरेको थियो । तर पछिल्लो दिनमा साधारण शेयर पाउन नै मुस्किल हुन थालेको छ ।
सोमबारदेखि निष्कासन भएको गुराँस लघुवित्त वित्तीय संस्थाको साधारण शेयर खुलेको पौने एक घण्टामै सबै बिक्री भएको पाइएको छ ।
पहिलो दिन सोमबार बिहान १० बजे खुलेको शेयर पौने ११ बजे नै सबै बिक्री भएको बिक्री प्रबन्धक एनआइबिएलएस क्यापिटलले दावी गरेको छ ।
खुलेको ४५ मिनेटमै १४ हजार ४ सय ४६ आवेदकबाट दुई लाख ५४ हजार कित्ताकोलागि आवेदन परेको थियो ।
संस्थाले कर्मचारीहरूको लागि र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको दुई लाख ३३ हजार ६२५ कित्ता सर्वसाधारणको खुला गरेको हो।हालसम्म संस्थाको शेयरमा करिब १२ गुणा बढी आवेदन परिसकेको छ ।
एक लाख ३८ हजार ८७० आवेदकले २६ लाख ३८ हजार ८७० कित्ताको लागि आवेदन दिएका छन् जुन मागभन्दा ११.२३ गुणा बढी हो।
सर्वसाधारणले प्रतिशेयर १०० रुपैयाँको दरमा न्यूनतम १० कित्ता र अधिकतम ५०० कित्ताको लागि आवेदन दिन सक्छन् । पर्याप्त आवेदन परेकाले शुक्रवारसम्म मात्रै सर्वसाधारणले आवेदन दिन सक्ने छन । मागभन्दा करिब सात गुणा आवेदन परिसकेकोले १० कित्ता मात्रै आवेदन दिए पुग्ने देखिएको छ ।
प्रतिक्रिया