काठमाडौं- पार्टी स्थापना दिवसकै दिन दुई ठूला कम्युनिस्ट पार्टी एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी गरेको उद्घोष सम्भव नभए पनि दुवै पार्टीले संयुक्त कार्यक्रममार्फत पार्टी एकताको साझा प्रतिबद्धता जनाउने भएका छन्।
६९औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको सन्दर्भ पारेर आज दुवै पार्टीले पार्टी एकता संयोजन समितिको आयोजनामा संयुक्त कार्यक्रम गर्दै छन्। कार्यक्रममा दुवै पार्टीका अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड) ले सम्बोधन गर्दै आफ्ना कार्यकर्तालाई पार्टी एकताप्रति आशंका नगर्न सन्देश प्रवाह गर्ने तयारी भएको माओवादी केन्द्रका वरिष्ठ नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बताए।
यस अगाडी यी दुई पार्टीवीच कम्युनिस्ट पार्टी स्थापना दिवस (अप्रिल २२ तारिख) का दिन पारेर काठमाडौंमा भव्य सभा आयोजना गरी पार्टी एकता घोषणा गर्ने समझदारी थियो। २००६ साल वैशाख १० गते (अप्रिल २२)मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भारतको कोलकातास्थित श्यामाबजारमा भएको थियो।
२०१९ को तेस्रो महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीमा शृंखलाबद्ध टुटफुट र विभाजन आएको थियो। तर, असोजमा भने नेपालका अलग धारका दुई ठूला कम्युनिस्ट पार्टी एमाले-माओवादीले ५५ वर्षपछि एउटै कम्युनिस्ट पार्टी बनाउने साझा संकल्पसहित पार्टी एकताको प्रतिबद्धता जनाउँदै अहिले एकता प्रक्रियालाई करिब अन्तिम तयारीतिर पु¥याएको दाबी गर्दै आइरहेका छन्। सोहीअनुसार उनीहरूले पार्टी स्थापना दिवसलाई नै पार्टी एकता दिवसका रूपमा मनाउन खोजेका थिए। तर, एकीकृत पार्टीको संगठन निर्माण गर्दा संगठन अनुपात महाधिवेशनसम्म रहने भनिएका दुई अध्यक्षको कार्यक्षेत्र र अधिकार बाँडफाँटलगायत विषयमा कुरा नमिल्दा ९ वैशाखमा घोषणा गर्ने तयारी गरिएको एकता धकेलियो।
अब भने मजदुर दिवस (मे १ तारिख) वैशाख १८ र कार्ल माक्र्स जन्मजयन्ती (मे ५ तारिख) वैशाख २२ का दिनमध्ये एक दिन पारेर एकताको औपचारिक घोषणा गर्ने तयारीमा दुई पार्टी शीर्ष नेता छलफलमा जुटेका छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया