काठमाडौं – राप्रपा (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनद्वारा सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको भन्दै सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।
सरकारले सुनियोजित र नीतिगत रुपमै भ्रष्टाचारलाई संस्थागत गर्दा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुकदर्शक बनेको भन्दै युवाहरुले आज विरोधस्वरुप अख्तियार परिसर घेराउ गरेका हुन् ।
राप्रपा (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनद्वारा आयोजित विरोध कार्यक्रमको दौरान युवाहरुले मुलुकमा व्याप्त भ्रष्टाचारको विरोध गर्दे अख्तियार प्रवक्ता प्रदिप कोइराला समक्ष ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा सत्ता पक्ष र प्रतिपक्षको राष्ट्रिय सहमति रहेको वाइड बडी प्रकरण, बालुवाटार जग्गा काण्ड लगायतका अनियमिततामा कारवाहीको माग गरिएको छ ।
राप्रपा (संयुक्त) कार्यसम्पादन समितिका सदस्य तथा विधार्थी संगठनका संयोजक जगत गौचनले घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै सरकारकै नेतृत्व र संरक्षणमा भ्रष्टाचार जीवन पद्धति बनाइएकोमा आपत्ति जनाए ।
नेता गौचनले भने, दुइतिहाईको कम्युनिष्ट सरकारले प्रजातन्त्र र राष्ट्रियतामाथि धावा बोलीरहेको छ । नेपाललाई पराधिन बनाउने दुष्प्रयास जारी रहेको यस बखतमा ६२, ६३ मा आन्दोलनकारी र राजाबीच भएको सहमति कार्यान्वयन गरीनु पर्दछ । यसो नभए हामी तेस्रो जनआन्दोलन गर्नेछौं ।
युवा विधार्थीहरुले नक्साल गहना पोखरीदेखि अख्तियार परिसरसम्म नारा जुलुस गरेका थिए । भ्रष्टाचारीलाई सख्त कारवाहीको माग गर्नुका साथै राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा नाराबाजी गरेका थिए ।
‘भ्रष्टाचार मुक्त नेपाल हाम्रो माग हो । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, अख्तियार रमिते भएर बस्ने यसरी अब चल्दैन । अख्तियारले खरदार, सुब्बा मात्र होइन, साँच्चिकै ठूलो माछालाई कठघरामा उभ्याउन सक्नु पर्दछ । भ्रष्टाचारबाट देशले छुटकारा नपाएसम्म भ्रष्टाचार विरुद्धको हाम्रो अभियान जारी रहनेछ,’ राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठन (संयुक्त) का अध्यक्ष धनसुर शाहीले भने ।
दुइतिहाईको कम्युनिष्ट शासनमा एकपछि अर्को भीमकाय भ्रष्टाचार काण्डले देश आक्रान्त छ । वाइड बडी, एनसेल, मेलम्ची, सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रकरण प्रतिनिधि पात्र मात्र हुन्, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) का अध्यक्ष राजु लोहनीले भने ।
‘सरकारको नीतिगत भ्रष्टाचारले देश डामाडोल छ । यस्तो रवैया युवाहरुको भविष्य माथिको प्रहार हो । यसकारण भयंकर आँधी तुफान ल्यायर भ्रष्टाचारीलाई सडकमा ल्यायर जनताले कारवाही गर्नु पर्दछ । त्यो दिन अब धेरै टाढा छैन र त्यस्तो दिन नआएसम्म हाम्रो भ्रष्टाचार विरोध अभियान जारी रहनेछ,’ राप्रविसं (संयुक्त) का प्रवक्ता एन्टीसंघर्ष राईले बताए ।
भ्रष्टाचार संस्थागत रुपमा विकेन्द्रीकरण भइरहेको छ । सरकार भ्रष्टाचारले डुङडुङ गनाई रहेको छ । यस्तो समयमा पनि अख्तियार केही नदेखे, नसुने जस्तो गरेर बस्नु चिन्ताको विषय हो भ्रष्टाचार विरोधी अभियन्ताहरुको भनाई छ ।
प्रतिक्रिया