उता वलात्कार यता घर निकाला

७ बर्ष अगाडि

 झापा -धन कमाउने आसमा जोर्डन पुगेकी झापा बिर्तामोडकी ३२ वर्षीया धनमाया बस्नेत अहिले सडकमा छिन् । उनको पेटमा ८ महिनाको बच्चा छ । श्रीमान् र परिवारको अनुरोधमा घरेलु कामदारका लागि १९ महिनाअघि जोर्डन पुगेकी धनमाया काम गरेको कम्पनीमा बलात्कृत भइन् ।

गलैंचा फ्याक्ट्रीमा काम गर्ने धनमाया भारतीय सहकर्मीबाट बलात्कारको सिकार भएकी थिइन् । आफूलाई परेको कारुणिक पीडाबारे खुल्दै उनले थपिन्, ‘एकलासको बाटो थियो । पछाडिबाट एक जनाले अँगालो हाल्यो र लडायो अनि रुमालले मेरो मुख थुनेर बलात्कार ग-यो । उसले मलाई जेजे गर्नु थियो सक्यो अनि छाडेर भाग्यो । वरिपरि कोही थिएनन् र मैले पनि न्याय नपाउने डरमा यो घटना कसैलाई सुनाइन् ।’

घटनाबाट पीडित उनी बाँच्नु न मर्नुको अवस्थामा पुगिन् । ‘मर्न खोजें मर्न सकिनँ, नेपाल आएँ ज्युँदै मरें,’ ९ दिनअघि श्रीमान् र परिवारका सदस्यले घरनिकाला गरेपछि न्यायको खोजीमा भौंतारिएकी धनमायाले गहभरि आँसु पारेर भनिन् । उनलाई कम्पनीका म्यानेजरले गत महिना मात्रै नेपाल डिपोट गरेका थिए ।

कम्पनीबाट काम गरेर फर्किने क्रममा धनमाया भारतीय नागरिकबाट राति ११ बजे बलात्कृत भइन् । आफूमाथि परेको पीडा उनले सहकर्मीलाई सुनाइन् । ‘अर्काको देशमा आएकाले कुनै कारबाही हुँदैन भन्ने साथीहरूले भने । म अत्तालिएँ,’ उनले सुनाइन् ।

बिस्तारै उनको पेट बढ्दै गयो । बलात्कारको निसानी पेटमा बढेको बल्ल थाहा पाइन् । ‘कम्पनीको म्यानेजरलाई सुनाएँ । उसले बलात्कारी र मलाई घर फर्काइदियो,’ उनले भनिन् ।

धनमायाका श्रीमान् किरण पनि वैदेशिक रोजगारीका लागि साउदी अरबमा थिए । उतैबाट किरणले रोजगारीमा जान दबाब दिएपछि काठमाडौंमा रहेको एसीसी म्यानपावरमार्फत जोर्डन पुगेकी थिइन् । ‘घर चलाउन गाह्रो थियो । पैसा पठाउनु भन्दा तँ नै कमाएर देखा भनेपछि छोराछोरी पढाउन र घर खर्च चलाउन बिदेसिएँ । सपना साकार गर्नेभन्दा पीडाको भारी बोकेर फर्किएकी छु,’ उनले भनिन् । उनका १४ र ९ वर्षीया २ छोरी र ४ वर्षीय १ छोरा छन् । उनले भनिन्, ‘पैसा कमाएर आएको भए प्यारो हुन्थें होला, पीडामा परेर फर्किएँ, अहिले घरबाट निकालिएँ ।’ राजधानी दैनिकमा खबर छ |

७ बर्ष अगाडि

प्रतिक्रिया