काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाको नाममा पछिल्लो दिनमा ठगी धन्दा मौलाउँदै गएको छ । एउटै जग्गा विभिन्न व्यक्तिको नाममा देखाएर सरकारी पैसामा मोजमस्ती गर्ने क्रम समेत सुरु भएको पाइएको छ ।
आफूले पाउने भन्दा दोब्बर पैसा असुलेर धादिङका ४ व्यक्ति बेपत्ता भएपछि सो कुराको खुलासा भएको हो । धादिङको साविक मैदी ८ का भीमलाल श्रेष्ठ, रुद्रलाल श्रेष्ठ, धनबहादुर श्रेष्ठ र साविक खरी २ का चक्रपाणी पोखरेलले आफूले पाउने भन्दा बढी पैसा मुआब्जा वापत लिएर बेपत्ता भएको पाइएको छ ।
उनीहरुलाई खोजीका लागि प्रहरी समेत परिचालन गरिएको छ । उनीहरुले संयुक्त लालपूर्जामा रहेको जग्गाबाट रु आठ करोड भन्दा बढी रकम लिएर बेपत्ता भएको बुढीगण्डकी आयोजनाले जनाएको छ ।
उनीहरुलाई पत्ता लगाई कानुनी कारवाही गर्न जिल्ला प्रशासन कार्यालय धादिङले प्रहरी समेत परिचालन गरेको छ । कुल आठ रोपनी ९ आना जग्गाको पाउनुपर्ने ५२ लाख मात्रै भएपनि उनीहरु तिनै जानाले रकम बुझेको बताइएको छ ।
महालेखा परिक्षक कार्यालयले रु ६ करोड बढीको बेरुजु देखाएपछि उनीहरुको खोजी भएको हो । चक्रपाणी पोखरेलले पनि आफूले पाउनुपर्ने भन्दा नौ गुणा बढी जग्गा देखाएर रु ४२ लाख रकम बुझेको देखिएको छ ।
चारै जनाको खोजीका लागि प्रहरी परिचालन गरिएको र परिवारलाई समेत खबर गरिएको छ ।
आफूले पाउनुपर्ने भन्दा बढी जग्गा देखाएर स्थानीय कर्मचारीको समेत मिलेमतोमा उनीहरुले आयोजनाबाट मुआब्जा बुझेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् ।
मुआब्जा वितरणमा ढिलाई भइरहेको बेला मुआब्जा लिएकाले समेत बदमासी गरेपछि आयोजना के गर्ने भन्ने निकर्षमा पुग्न सकेको छैन । बढी मुआब्जा लिएर फरार भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चालु आवमा रु दश अर्ब मुआब्जा वितरण गर्नुपर्ने भएपनि हालसम्म कुनै पनि रकम वितरण गरिएको छैन । स्थानीयले मुआब्जा नपाएको भन्दै विरोध गरिरहेका छन् ।
प्रतिक्रिया