काठमाडौं– स्वन्तन्त्र मधेसको अभियान छाडेर संवैधानिक प्रक्रियामा सामेल भएका सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
आयोगमा जनमत पार्टी दर्ता गर्ने उदेश्यसहित राउत नेतृत्वको टोली काठमाडौं आएर संवैधानिक र कानुनी प्रक्रिया सम्बन्धी आवश्यक सल्लाह र छलफल गरिरहेको छ ।
जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार आवश्यक कागजपत्र मिलाउने कार्य भइरहेको छ। ‘पार्टी दर्ता गराउनका लागि अध्यक्षसहित हाम्रो टोली काठमाडौं आएको छ, सम्भवतः आगामी हप्ता भित्रै पार्टी दर्ता भइसक्ने छ’, सिंहले नागरिकसँग भने, ‘अब पार्टी दर्ता गराएर मात्रै फर्किने हो।’ उनका अनुसार पार्टी दर्ता सम्बन्धी आवश्यक कानुनी छलफल र राय लिने काम भइरहेको छ । नागरिकमा खबर छ ।
उता, राउत नेतृत्वको टोलीले गृह सचिव प्रेम राईलाई भेटघाट गरी सम्झौता अनुसारको मुद्दा फिर्ता लिनका लागि नामावली पेश गरेको छ। ‘हिजोका अजेन्डा अनुसार पक्राउ परी मुद्दा मामिला झेलिरहेका साथीहरुको मुद्दा फिर्ता र रिहाईका लागि भन्दै सूची गृह सचिवलाई बुझाइसकेका छौं’, सिंहले भने, ‘३ सय ५० भन्दा बढी नाम संकलन गरेर त्यस्तो सूची तयार पारेर दिएका हौं ।’ उनका अनुसार गृह सचिव राईले मुद्दा फिर्ता प्रक्रियालाई सम्झौता अनुसार तत्काल अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया