एकतालाई अन्तिम रूप दिन  जुटे ओली-प्रचण्ड , तर ..

७ बर्ष अगाडि

काठमाडौँ -नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच हुने एकतालाई अन्तिम रूप दिन दुई दलका अध्यक्ष गृहकार्यमा लागेका छन्  । त्यस क्रममा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार पनि भेटवार्ता भयो । 

एकताको तयारीका लागि गठित दुई कार्यदलले चैत २० गते बुझाएको प्रतिवेदनमाथि वैशाख ४ गते एकता संयोजन समितिमा छलफल भएको थियो । छलफलपछि असहमति मिलाउने जिम्मेवारी प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई दिइएको थियो । 
यही विषयमा बिहीबार पनि दुई अध्यक्षबीच छलफल भएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रतिवेदनमा रहेका असहमतिका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले पार्टीको विधान र राजनीतिक दस्तावेजको विषयमा दुई अध्यक्षबीच छलफल भएको जानकारी दिए  । 

कार्यदलले प्रतिवेदन बुझाउँदा एकीकृत पार्टीको चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र एकीकृत पार्टीमा सम्मानजनक सहभागिता विषयमा कुरा मिल्न बाँकी थियो । एमालेले सूर्य चुनाव चिह्न हुनुपर्ने दाबी गरेको छ । जसलाई माओवादी केन्द्रले स्वीकार गरेको छैन । 
माओवादी केन्द्रले जनयुद्ध शब्द व्याख्यासहित विधानको प्रास्तावनामा नै राख्नुपर्ने अडान लिएको छ । त्यसैगरी, पार्टीको कार्यसमितिमा आधा–आधा भाग लगाउनु पर्ने पनि दाबी माओवादी केन्द्रले गरेको छ । यिनै विषयमा छलफल गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिइएको हो । 

सकेसम्म बराबरी र सम्मानजनक रूपमा एकतामा जानेबारे छलफल भएको अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै उनको  निजी सचिवालयले जनाएको छ । 
वैशाख ९ गते कम्युनिष्ट दिवस पारेर पार्टीको एकता घोषणा गर्ने मिति तय भएको थियो तर तयारी नपुगेको कारण तोकिएको समयमा एकता घोषणा हुन नसक्ने देखिएको छ । एकता घोषणाको मिति तोक्ने जिम्मेवारी पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई दिइएको छ, गोरखापत्रमा खबर छ  ।

७ बर्ष अगाडि

प्रतिक्रिया