भूकम्पछिको पुनर्निर्माणमा एनजीओ तथा आईएनजीओले उलेख्य उपलब्धि हासिल गरेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । प्राधिकरणले २ सय २ गैरसरकारी संस्थासँग निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरेको थियो ।
प्राधिकरणसँगको सम्झौताअुनसार गैरसरकारी संस्थाले २१ हजार ९ सय ४२ वटा निजी आवास पुनर्निर्माण गर्ने सम्झौता गरेका थिए । प्राधिकरणसँगको सम्झौताअनुसार गैरसरकारी संस्थाले १५ हजार ८ सय ८६ घरको पुनर्निर्माण गरेका छन् ।
गैरसरकारी संस्थाले १३ वटा जिल्लामा पुनर्निर्माणका लागि प्राधिकरणसँग सम्झौता गरेका थिए । करिब २२ हजार घरमध्ये २० हजार घरले पुनर्निर्माणको पहिलो किस्ता बुझिसकेका छन् ।
निजी आवास पुनर्निर्माणका लागि गैरसरकारी संस्थासँग सम्झौता भएको ५७ अर्ब रुपैयाँमध्ये २७ अर्ब रुपैयाँ खर्च भएको छ ।
गैरसरकारी संस्थाले निजी आवास पुनर्निर्माणका लागि १३ वटा जिल्ला छानेका थिए । नुवाकोटमा ६ वटा गैरसरकारी संस्थाले २ हजार ९ सय ९५ घर बनाउने सम्झौता गरेका थिए । रसुवामा चारवटा गैरसरकारी संस्थाले १५ सय २७ वटा घर बनाउने सम्झौैता गरेका थिए ।
काभ्रेपलान्चोकमा निजी आवास पुनर्निर्माणका लागि पाँचवटा गैरसरकारी संस्थाले सम्झौता गरेका थिए । उनीहरूले प्राधिकरणसँग काभ्रेपलान्चोकमा २६ सय ९६ वटा घर बनाउने सम्झौता गरेका थिए । निजी आवास पुनर्निर्माणमा सबैभन्दा धेरै गैरसरकारी संस्था सिन्धुपाल्चोकमा थिए । सिन्धुपाल्चोकमा १० वटा गैरसरकारी संस्थाले ५ हजार ३ सय ५७ घर बनाउने सम्झौता गरेका थिए ।
यसैगरी, दोलखामा चार गैरसरकारी संस्थाले २ हजार ८६ वटा घर बनाउने सम्झौता गरेका थिए । मकवानपुरमा तीन गैरसरकारी संस्थाले १३ सय ८७ घर बनाउने सम्झौता गरेका थिए । काठमाडौं र ललितपुरमा ६ गैरसरकारी संस्थाले १५ सय २५ घर बनाउने सम्झौता गरेका थिए ।
लमजुङमा दुई गैरसरकारी संस्थाले २ सय ७० वटा घर बनाउने सम्झौता गरेका थिए । सिन्धुलीमा एक गैरसरकारी संस्थाले ८ सय ८० घर बनाउने सम्झौता गरेको थियो । रामेछापमा दुई गैरसरकारी संस्थाले १३ सय ७९ घर बनाउने सम्झौता गरेका थिए । ओखलढुंगामा एक गैरसरकारी संस्थाले ५ सय २० घर बनाउने सम्झौता गरेको थियो ।
भूकम्पको केन्द्रबिन्दु गोरखामा पाँच गैरसरकारी संस्थाले १२ सय ९० घर बनाउने सम्झौता गरेका थिए ।
यसबाहेक गैरसरकारी संस्थाले ४ सय ४२ वटा विद्यालय पुनर्निर्माण गरेका छन् । गैरसरकारी संस्थाले प्राधिकरणसँग ८ सय २९ वटा विद्यालय पुनर्निर्माण गर्ने सम्झौता गरेका थिए ।
त्यस्तै, गैरसरकारी संस्थाले भूकम्प प्रभावित क्षेत्रका ५५ हजार नागरिकलाई विभिन्न सिपमूलक तालिम दिएको प्राधिकरणको तथ्याकंले देखाएको छ । गैरसरकारी संस्थाले सिर्कमी, डकर्मीलगायतका तालिम दिएका छन् ।
प्राधिकरणले पनि भूकम्पमा क्षतिग्रस्त भएका निजी घरमध्ये ५० प्रतिशत घर पुनर्निर्माण गरेको बताएको छ । यसले ७ लाख ६२ हजार ३ सय ७ घरसँग पुनर्निर्माण सम्झौता गरेको थियो । जसमध्ये ३ लाख ८२ हजार २ सय ७७ घरको पुनर्निर्माण सम्पन्न भएको छ ।
प्रतिक्रिया