चिनियाँ बुद्धिजीवी भन्छन्–‘एमाले–माओवादी एकता चाँडै होस्’

७ बर्ष अगाडि

बेइजिङ-  चिनियाँ बुद्धिजीवी एवम् पूर्वकूटनीतिज्ञहरूले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

‘पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छु । यो राजनीतिक विजयलाई दुई पार्टीले खेर नफाली अब नेपालको आर्थिक विकासमा अगाडि बढ्नेछन् भन्ने आशा गर्दछौं,’ चिनियाँ बुद्धिजीवी छङ सिचोङले भने, ‘एमाले र माओवादी केन्द्रका बीचमा चाँडै एकता हुनेमा हामी आश्वस्त छौं ।’

नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चिनियाँ बुद्धिजीवीले चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष यस्तो धारणा राखेका हुन् । छङसहितका बुद्धिजीवीले केही सामाजिक, आर्थिक तथा राजनीतिक प्रवृत्ति र गैरसरकारी संस्था नेपालको विकासमा अवरोध बनेको भन्दै आलोचनासमेत गरेका थिए ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रमुख अतिथि बनाएर ‘चाइना रिफर्म फोरम’ ले बिहीबार बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन सम्बन्ध र बीआरआई’ शीर्षकको सेमिनारमा उनीहरूले त्यस्तो धारणा राखेका हुन् । चिनियाँ बुद्धिजीवी छङले नेपालमा कानुन कार्यान्वयन पक्ष फितलो रहेको औंल्याउँदै भने, ‘विगत लामो समयसम्म नेपाल सामाजिक अस्थिरता, असंख्य प्रदर्शन र गतिविधिका कारणले आक्रान्त बनेको छ । यो अवस्था चाँडै परिवर्तन हुनेछ र नेपाल सरकारले कानुन कार्यान्वयन गर्दै ल एन्ड अर्डर कायम राख्ने हाम्रो अपेक्षा छ ।’

छङ काठमाडौंस्थित चिनियाँ दूतावासमा सैनिक सहचरीका रूपमा सात वर्षभन्दा लामो समय बिताएर तीन वर्षअघि बेइजिङ फर्केका हुन्, कान्तिपुरमा खबर छ  । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया