काठमाडौं । भक्तपुरमा मासिक १ करोड बराबरको विद्युत् चोरी हुने गरेको पाइएको छ ।
बाक्लो बस्ती, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको लापरवाही तथा स्थानीयको अवरोधका कारण भक्तपुरमा समेत मासिक रुमपा नै प्राधिकरणको आम्दानी घाटा लागिरहेको छ ।
चोरीका कारण ठूला दुर्घटना हुने सम्भावना समेत बढेर गएको छ । तर नियन्त्रणको सार्थक प्रयास हालसम्म हुन सकेको छैन ।
प्राधिकरणको तथ्यांकलाई नै आधार मान्ने हो भने राजधानीका तीन जिल्ला मध्ये सबैभन्दा बढी र संगठित रुपमा चोरी हुने निकायको रुपमा भक्तपुरलाई लिने गरिन्छ ।
पछिल्ला दिनमा चोरी नियन्त्रणको प्रयास भएपनि सार्थक नजिता भने निस्कन सकेको छैन । चोरी नियन्त्रणमा जाने प्राधिकरणका कर्मचारी समेत स्थानीयको कुटाई खाएर फर्कनुपर्ने अवस्था विद्यमान रहेको छ ।
भक्तपुर नेपाल मजदुर किसान पार्टीको आधार जिल्लाको रुपमा लिइन्छ । ग्रामीण क्षेत्रमा भन्दा पनि बढी शहरी क्षेत्रमा चोरी बढी रहेको छ । बाक्लो बस्तीमा चोरी नियन्त्रणका लागि स्थानीय सुरक्षा निकाय र राजनीतिक नेतृत्वलाई समेत साथमा लिएर काम गर्ने जाँगर प्राधिरकणले देखाएको छैन । जसका कारण चोरीको मात्रा दिन प्रतिदिन बढ्दै गएको छ ।
प्राधिकरणका कर्मचारी नै स्थानीयबासीबाट असुरक्षित भएपछि चोरी नियन्त्रणको प्रयास समेत सार्थक बन्न नसकेको प्राधिकरणका उच्च अधिकारीको भनाइ छ ।
नियमित विद्युत् आपूर्ति भइरहेको सन्दर्भमा प्राधिकरण सरोकारवाला सबैलाई समन्वय गर्न सकेको खण्डमा चोरी नियन्त्रण हुन सक्ने भएपनि त्यसतर्फ प्रयास नगरिनु र नहुनु दुखद रहेको छ ।
चौतर्फी रुपमा चोरी नियन्त्रण हुन नसकेको भन्दै आक्रोश बढेपछि प्राधिकरणले भक्तपुरका दुर्गम र भित्री बस्तीमा पनि छापा मार्न सुरु गरेको जनाएको छ । सहज रुपमा चोरी नियन्त्रण गर्न कठिनाई भएका कारण छापामार शैली अपनाउन लागिएको प्राधिकरणले जनाएको छ । तर छापामार शैलीले सार्थक परिणाम निकालि हाल्ला भन्नेमा प्राधिकरण स्वयम्लाई भने विश्वास छैन । यसले आफूले प्रयास मात्रै गर्न लागेको जनाएको छ ।
भक्तपुरमा हुकिङ हटाउने, पुराना मिटर फेर्ने र चोरलाई कारबाही गर्ने लगायत योजना बनाएर प्राधिकरणले काम सुरु गरेको जनाएको छ । यसका लागि प्रमुम जिल्ला अधिकारी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग पनि सहयोग मागिएको जनाएको छ । स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजलाई समेत परिचालन गर्ने प्राधिकरणले योजना रहेको जनाएको छ ।
हुकिङ तथा मिटर बाइपास गरी चोरी हुने ठाउँमा छापा मारी कारबाही सुरु गरेको प्राधिकरणले जनाएको छ ।
हुकिङमा प्रयोग हुने उपकरण बरामद गर्ने तथा ६० दिनसम्म महसुल नतिर्नेको लाइन काटेर बक्यौता उठाउने जनाइएको छ ।
भक्तपुरले चालू आर्थिक वर्षको ५ महिनामा विद्युत् चोरीमा संलग्न ४० जनालाई कारबाही गरेको जनाएको छ । तर चोरीको मात्रा भने उस्तै रहेको छ ।
चोरीमा संलग्नबाट रु ११ लाख ८८ हजार ८ सय ५८ असुल गरिएको उसले जनाएको छ ।
प्रतिक्रिया