काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँ राख्न प्रस्ताव गरेको छ । अहिलेको ५० लाखको सीमा न्यून भएको भन्दै मन्त्रालयले बढाएर ५ करोड रुपैयाँ (५ लाख डलर) तोक्ने भन्दै त्यसमा अर्थ मन्त्रालयको सहमति मागेको हो । अर्थले सहमति जनाएसँगै त्यसलाई मन्त्रिपरिषद्मा लगेर पारित गराउने उद्योग मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
थोरै लगानी सीमाले स–साना उद्योग व्यवसायमा समेत विदेशी लगानी आएको भन्दै त्यसलाई बढाउने तयारी गरिएको हो । हालै आएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानीको न्यूनतम सीमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोक्ने व्यवस्था गरेको छ । मन्त्रालयले सोही व्यवस्थाअनुसार न्यूनतम सीमा ५ करोड तोक्ने तयारी थालेको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
विभागको प्रस्ताव ७ करोड
यसअघि उद्योग विभागले विदेशी लगानीको न्यूनतम सीमा ७ करोड रुपैयाँ राख्न मन्त्रालयसमक्ष प्रस्ताव गरेको थियो । विभागले उद्योगी–व्यवसायी, विदेशी लगानीकर्तालगायत सरोकारवालासँग छलफल गरेर न्यूनतम सीमा ७ देखि १० करोड तोक्न सक्ने भन्दै मन्त्रालयलाई प्रस्ताव पठाएको थियो । त्यसलाई घटाएर उद्योग मन्त्रालयले ५ करोड बनाएको हो ।
रोकियो विदेशी लगानी स्वीकृति
नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले तोकेअनुसार नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा नतोक्दा उद्योग विभागले नयाँ विदेशी लगानी स्वीकृत गरेको छैन । सोहीकारण अहिले अर्बौँ रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत हुन नसकेको विभाग स्रोतले बतायो । तर, उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने साना विदेशी लगानी मात्रै स्वीकृत नगरिएको बताए ।
१० करोड रुपैयाँभन्दा बढीका लगानी भने अहिले पनि स्वीकृत भइरहेका उनले दाबी गरे । ‘कानुनमै स्पष्ट रूपमा नेपाल सरकारले न्यूनतम सीमा तोक्ने भनेका कारण अहिले उद्योग विभागले १० करोडभन्दा साना विदेशी लगानीलाई स्वीकृति दिएको छैन,’ उनले भने, ‘न्यूनतम सीमा तोक्ने प्रक्रियाले गति लिइसकेका कारण विदेशी लगानीमा कुनै अवरोध हुनेछैन ।’
प्रतिक्रिया