१५ दिनभित्र 'पिपिए' गर्न नआए सम्झौता खारेज गरिदिने प्राधिकरणको चेतावनी

७ बर्ष अगाडि

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले विभिन्न ३ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई १५ दिन भित्र विद्युत् खरीद सम्झौता गर्न नआए खारेज गरिदिने चेतावनी दिएको छ ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी १५ दिन भित्र उक्त सम्झौता गर्न आउन ती प्रवद्र्धकलाई आग्रह गरेको हो ।

प्राधिकरणको व्यवस्थापनबाट पिपिए स्वीकृत भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाको पिपिएमा हस्ताक्षरका लागि बैंक ग्यारेन्टी र अख्तियारनामा सहित उपस्थित हुन आग्रह गरेको छ ।  प्राधिकरणले आग्रह गरेका आयोजनामा ३ मेगावाट क्षमताको पेगु खोला रहेको छ । सो आयोजना बिगु हाइड्रो भेन्चरले निर्माण गर्न लागेको बताइएको छ ।  

यस्तै पुवा खोला एक हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको आयु मलुन आयोजनालाई पनि १५ दिन भित्र सम्झौता गर्न आउन भनेको छ । सो आयोजनाको क्षमता २१ मेगावाट रहेको छ ।

यस्तै सुपर खुदी हाइड्रो पावर प्रालिले निर्माण गर्न लागेको २१.२१ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत् आयोजनालाई पनि १५ दिन भित्र सम्झौताका लागि आउन भनेको छ ।

प्राधिकरणले नदी प्रवाही आयोजनाको लागि निश्चित सीमा तय गरेको छ । ५ हजार २५० मेगावाट क्षमता बराबरका नदी प्रवाही आयोजनाको मात्रै टेक अर पे मोडलमा पिपिए हुनेछ ।

सो अवधि भित्र उपस्थित नभएमा टेक अर पेको प्रावधान राखी पिपिए गर्ने प्राथमिकता सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया