काठमाडौ – साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले सर्वसाधारणका लागि बैशाख ६ गतेदेखि जारी गर्न लागेको आइपीओ बाँडफाँड लगत्तै दोस्रो बजारमा सूचिकरण हुने भएको छ ।
लगानीकर्ताहरुमा आयोजना प्रभावितलाई सेयर निश्कासन नभई यी दुई आयोजनाको सेयर नेप्सेमा सूचिकृत हुँदैन कि भन्ने संशय रहेको देखिएको बेला आयोजनाले सो कुरा बताएका हुन् ।
धितोपत्र बोर्ड, बिक्री प्रबन्धक र दुवै आयोजना अधिकारीहरुले सर्वसाधारणका लागि जारी सेयर बाँडफाँडको केही दिनपछि नै दोश्रो बजारमा सूचिकृत हुने प्रष्ट पारेका हुन् ।
दोश्रो बजारमा सूचिकृत हुनका लागि आयोजना प्रभावितलाई सेयर बाँडफाँड गर्ने समयसम्म पर्खिनु नपर्ने भएको छ । साञ्जेन जलविद्युत आयोजनाका साधारण शेयर निश्कासनपछि एकदेखि डेढमहिनाभित्रै सेयर सूचिकरण हुने छ ।
यी दुई आयोजना आइपीओ निश्कासनको अन्तिम चरणमा आएर जनताको जलविद्युत कार्यक्रममा समेटिएका आयोजना हुन् । दुवै आयोजनाले रु १०० अंकित दरले सेयर निश्कासन गर्नेछन् । धितोपत्र बोर्डको नयाँ व्यवस्थाअनुसार यी दुवै आयोजनामा न्यूनतम १० कित्ताका लागि समेत आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया