राज्य र पार्टीले जिम्मा दियो भने म संवाद अगाडि बढाउन सक्छु : देवेन्द्र पौडेल

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले राज्य र पार्टीले जिम्मा दिए आफुले नेत्र विक्रम चन्द विप्लवसँग संवाद अगाडि बढाउन सक्ने बताएका छन् । 

काठमाडौँमा केही दिन अघि  गरिएको एक कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । 

यस्तो छ उनले गरेको सम्बोधन: राज्यले गैरकानूनी रुपमा गरिएका गतिविधिलाई शक्ति प्रयोग गरेर, राजनीतिक उद्देश्यसहित गरिएका गतिविधिलाई संवाद र वार्ताको प्रक्रिया प्रयोग गरेर शान्ती प्रक्रियामा ल्याउनु पर्दछ । विप्लव समुहका गतिविधिहरु गैरसंवैधानिक छन् । चन्दा उठाउने, आगजनी गर्ने, धम्की दिनेजस्ता गतिविधि प्रति राज्यले आफ्नो प्रक्रिया पुर्याएर नियन्त्रण लिन खोज्नुलाई हामी स्वभाविक मान्छौं । तर, फेरिपनि कमरेड विप्लव अपराधिक व्यक्तित्व नभएर हिजोको आन्दोलनको सहभागी नेता भएको हुँदाखेरी उहाँले उठाएका राजनीतिक मुद्दाहरुलाई सहजीकरण गर्नको निमित्त राज्यले सहज वातावरण बनाउनु पर्दछ । पार्टीलाई पुरै सखाप पार्छू भन्नेभन्दा पनि वार्ता, सहमति र संवादको प्रक्रियामा ल्याएर राजनीतिक उद्देश्यहरु हल गर्न तिर लाग्नु पर्छ । त्यसो गरियो भने, जनताका बीचमा देखिएको अन्यौलता अन्त्य हुन्छ । देश फेरि द्वन्द्वमा जाने होकि भन्ने सन्त्रास स्वभाविक समाप्त हुन्छ ।

हिजो आन्दोलनमा उठाइएका एजेण्डाहरु आज संस्थागत हुने प्रक्रियामा छन् । गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशिता लगायतका एजेण्डाहरु विप्लवले पनि उठाउनु भएको हो । यी एजेण्डालाई बचाउनु, हुर्काउनु र राज्यमा स्थापित गराउन अझ पहलकदमी लिनु उहाँको पनि दायित्व हो । त्यसकारणले खाली विद्रोहको मात्रै कुरा गरेर अगाडि बढ्न सकिंदैन् । आफ्ना गतिविधि प्रति उहाँले समिक्षा गर्नुपर्दछ । राज्यले पनि खाली बल प्रयोग गरेर समस्या हल गर्छु भन्नु हुँदैन । गतिविधिहरु गैरसंवैधानिक हुँदासम्म राज्यले नियन्त्रण लिन खोज्नु स्वभाविक हो तर समस्याको हल वार्ता र संवादबाट मात्रै हुने हो ।

विप्लव नेतृत्वको नेकपा र कमरेड विप्लवलाई मेरो व्यक्तिगत रुपमा र पार्टीको संस्थागत अनुरोध के हो भने, समाजवादी क्रान्ति सम्पन्न गर्न हामी सबै मिलेर अगाडि बढौं । नेपालका सबै वामपन्थी एकै ठाउँमा भएर अगाडि बढ्ने सम्भावना छ । त्यो कोसिसमा आउनको निम्ति पनि अनुरोध गर्दछु ।

कमरेड विप्लवको भावना, उहाँको स्प्रीट र उहाँले गर्न खोजेको कुरालाई बुझ्ने साथीहरुले वार्ताको जिम्मा लिएर डिल गर्नुभयो भने वातावरणा सहजीकरण हुनसक्छ । विप्लवजीहरुले जिन्दगीभर वार्ता नै गर्दैनौ भन्नुभएको पनि छैन् । अझैपनि राज्यको तर्फबाट वार्ता, सहमति र संवादको घेरालाई फराकिलो बनाएर समस्या हल गर्नुपर्छ । सिके राउतलाई जसरी हामीले सहजीकरण गरेर वार्तामा ल्यायौं । र, एउटा कोर्षमा पुर्यायौं । उहाँ हिजो जुन ठाउँमा हुनुहुन्थ्यो अहिले फरक कोर्षमा हिड्नुभएको छ । भविष्यको विषय फरक होला । विप्लव कमरेडलाई पनि त्यसरी नै उहाँको एजेण्डा, उहाँको कुराहरु राख्ने अवस्था दिनुपर्छ । जसको लागि राज्यले सहजीकरण गर्न आवश्यक छ । यदि राज्य र पार्टीले जिम्मा दियो भने मैंले संवाद अगाडि बढाउन सक्छु । वातावरणलाई विग्रन दिन हुँदैन । यो हामी सबैको दायित्व हो । चैत २८ गतेको कार्यक्रम

७ बर्ष अगाडि

प्रतिक्रिया